जनकपुरधाम/मंसिर ५ गते। मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जालको अध्यक्षमा धनुषाको नगराइन नगरपालिका–२ निवासी शिव कुमार सदा सर्वसम्मत निर्वाचित भएका छन्।
जनकपुरधाममा मंसिर ४ र ५ गते आयोजित दुई दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र क्षमता विकास कार्यशालाबाट शिव कुमार सदा अध्यक्षमा चयन भएका हुन्। यसअघि उनले धनुषा जिल्लाको बाल क्लब सञ्जालको जिल्ला अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने मूल नाराका साथ मधेश प्रदेश सरकार, खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा सम्पन्न कार्यशालाले प्रदेशस्तरीय बाल क्लब सञ्जालको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको हो।
सञ्जालको उपाध्यक्षमा सिरहाबाट पूजा महतो र सप्तरीबाट सुजन बस्नेत चयन भएका छन्। सचिवमा पर्साकी करिश्मा गुप्ता तथा सहसचिवमा रौतहटका मो. नजिम सर्वसम्मत निर्वाचित भएका छन्।
त्यस्तै, सदस्यहरूमा सम्झना चौधरी, अदिती रौनियार, सलमान हवारी, नन्दनी कुमारी साह, सन्जना कुमारी कुशवाहा, सवाव अन्सारी, अमन यादव, अम्बिका यादव, जागृती राज चौधरी, रितिक शर्मा र रोहन परियार चयन भएका छन्।
आठवटा जिल्लाबाट दुई–दुई जना प्रतिनिधित्व हुने गरी १६ जना र एक जना मनोनीत गरी कुल १७ सदस्यीय कार्यसमिति गठन गर्ने निर्णयअनुसार सञ्जालको नेतृत्व चयन गरिएको आयोजकले जनाएको छ।
जिल्लास्तरमा बालबालिकाको हक, अधिकार, संरक्षण तथा सहभागिताका क्षेत्रमा सक्रिय रहँदै आएका सदा आफ्नो अनुभव र सक्रियताका आधारमा प्रदेशस्तरीय नेतृत्वमा पुगेका हुन्। उनको नेतृत्वमा मधेश प्रदेशभर बालबालिकाको हक तथा अधिकार सुनिश्चितता, बाल संरक्षण, बाल सहभागिता र नेतृत्व विकासका अभियानले थप गति लिने अपेक्षा गरिएको छ।
नवनिर्वाचित अध्यक्ष सदाले प्रदेशभरका बालबालिकाका आवाजलाई एकीकृत गर्दै स्थानीय तहदेखि प्रदेशस्तरसम्म पुर्याउने, बालबालिकाको अधिकारमाथि हुने विभिन्न प्रकारका हिंसा, विभेद र शोषणविरुद्ध सचेतना अभिवृद्धि गर्ने तथा बालबालिकालाई नीति निर्माण र निर्णय प्रक्रियामा सहभागी गराउन पहल गर्ने बताएका छ्न।
प्रदेशस्तरीय बाल क्लब सञ्जालले बालबालिकाका सवाललाई सम्बन्धित निकायसम्म पुर्याउने, बाल अधिकार संरक्षणका अभियानमा सक्रिय सहभागिता सुनिश्चित गर्ने र बालबालिकाको नेतृत्व क्षमता विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।
कार्यशालामा बालबालिकाको हक, अधिकार, संरक्षण, सहभागिता, नेतृत्व विकास तथा बाल क्लब सञ्जालको प्रभावकारी सञ्चालनका विषयमा छलफल तथा क्षमता विकाससम्बन्धी गतिविधिहरू सञ्चालन गरिएको थियो। बालबालिकालाई संगठित गर्दै उनीहरूको आवाजलाई स्थानीय तहदेखि प्रदेशस्तरसम्म पुर्याउने र बाल अधिकार संरक्षणका अभियानमा सक्रिय सहभागिता सुनिश्चित गर्ने उद्देश्य कार्यक्रमले राखेको थियो।
कार्यक्रमको आयोजना मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयले गरेको थियो भने कार्यक्रममा नेपाल सरकार, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय तथा राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय रहेको थियो। साथै युनिसेफ, सेभ द चिल्ड्रेन, प्लान इन्टरनेशनल र वर्ल्ड भिजनलगायत संस्थाहरूको सहयोग रहेको थियो।
दुईदिने कार्यशालाबाट गठन भएको प्रदेशस्तरीय बाल क्लब सञ्जालले मधेश प्रदेशमा बाल अधिकार संरक्षण, बाल सहभागिता अभिवृद्धि, बालबालिकाको नेतृत्व विकास तथा उनीहरूको आवाजलाई नीतिगत तहसम्म पुर्याउन प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

















Discussion about this post