मंसिर ५ गते। बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित ‘मनको साथी’ परियोजनाअन्तर्गत स्वास्थ्यकर्मी र शिक्षकहरूका लागि अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको छ।
सीबीएम ग्लोबल नेपालको सहयोग, सी.एम.सी.–नेपालको सहजीकरण तथा लक्ष्मीनियाँ गाउँपालिकाको लागत साझेदारीमा सञ्चालित परियोजनाअन्तर्गत बिहीबार तालिम आयोजना गरिएको हो।
तालिममा अपाङ्गता, अशक्तता तथा कार्यगत सीमितताबारे सहभागीहरूलाई जानकारी गराउँदै समुदायमा विद्यमान अपाङ्गताका प्रकार, अपाङ्गताप्रतिको सामाजिक धारणा तथा प्रयोग गरिने शब्दावलीबारे छलफल र प्रस्तुतीकरण गरिएको थियो। सहभागीहरूलाई आफ्ना समुदायमा अपाङ्गतासम्बन्धी अनुभव र बुझाइ साझा गर्न प्रेरित गर्दै मस्तिष्क मन्थनसमेत गराइएको थियो।
अपाङ्गता भएका व्यक्तिको आत्मसम्मान, पहिचान र मर्यादालाई सम्मान गर्दै अपमानजनक शब्दको सट्टा सम्मानजनक तथा अपाङ्गमैत्री भाषा प्रयोग गर्नुपर्नेमा तालिमले विशेष जोड दिएको थियो। ‘अपाङ्ग’, ‘लाटो’ वा ‘लङ्गडो’ जस्ता अपमानजनक शब्द प्रयोग नगरी ‘अपाङ्गता भएका व्यक्ति’, ‘दृष्टिविहीन’ तथा ‘श्रवणविहीन’ जस्ता मर्यादित शब्द प्रयोग गर्नुपर्ने विषयमा सहभागीहरूलाई सचेत गराइएको थियो।
नेपालको कानुनी व्यवस्थाअनुसार अपाङ्गतालाई १० प्रकारमा वर्गीकरण गरिएको जानकारी दिँदै शारीरिक, दृष्टिसम्बन्धी, श्रवण, श्रवण-दृष्टिविहीन, स्वर तथा बोलाइसम्बन्धी, मानसिक वा मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तस्राव (हिमोफिलिया) सम्बन्धी, अटिजमसम्बन्धी तथा बहुअपाङ्गता बारे जानकारी दिइएको थियो। त्यस्तै, अपाङ्गताको गम्भीरताका आधारमा पूर्ण, अति गम्भीर, मध्यम र सामान्य गरी चार प्रकारका परिचयपत्र वर्गीकरणबारे समेत जानकारी गराइएको थियो।
तालिममा अपाङ्गतालाई व्यक्तिगत वा चिकित्सकीय समस्याका रूपमा मात्र नभई सामाजिक तथा मानव अधिकारको सवालका रूपमा बुझ्नुपर्ने विषयमा जोड दिइएको थियो। भौतिक संरचना, सञ्चार, संस्थागत व्यवस्था तथा सामाजिक दृष्टिकोणका कारण अपाङ्गता भएका व्यक्तिहरू विभिन्न अवरोध, विभेद र कठिनाइमा पर्न सक्ने भएकाले समुदायलाई पहुँचयुक्त, समावेशी र अपाङ्गमैत्री बनाउन आवश्यक रहेको बताइएको थियो।
अपाङ्गता भएका व्यक्तिहरू राज्यबाट प्राप्त हुने सेवा, सुविधा, अवसर तथा अधिकारमा अन्य नागरिकसरह समान हकदार रहेको र ती अधिकार दयाका आधारमा नभई अधिकारका रूपमा सुनिश्चित हुनुपर्ने विषय पनि तालिममा उठाइएको थियो। उनीहरूको क्षमता, सीप र सम्भावनाको उपयोग गर्दै आफूले रोजेको जीवन सम्मानपूर्वक बाँच्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा सहभागीहरूलाई जोड दिइएको थियो। साथै, अपाङ्गताको सवाल गरिबी निवारण, रोजगारी, उत्पादकत्व, समान अवसर र समावेशी विकाससँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको चर्चा गरिएको थियो।
तालिममा परियोजनाअन्तर्गतका आठवटा फोकस सामुदायिक विद्यालयका शिक्षक, तीनवटा फोकस स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, शिक्षा संयोजक, स्वास्थ्य शाखा प्रमुख तथा गाउँपालिका अध्यक्षसहित २१ जनाको सहभागिता रहेको थियो।
तालिमको समापन समारोहमा प्रमुख अतिथिका रूपमा लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्र सहभागी थिए। उनले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा सम्मानजनक स्थान दिन, उनीहरूको अधिकार सुनिश्चित गर्न तथा शिक्षा र स्वास्थ्य सेवामा समान पहुँच स्थापित गर्न स्थानीय तह, विद्यालय र स्वास्थ्य संस्थाहरूले समन्वयात्मक रूपमा काम गर्नुपर्ने बताए। उनले अपाङ्गता भएका व्यक्तिहरूलाई दया र सहानुभूतिभन्दा पनि सम्मान, अवसर र अधिकार प्रदान गर्न आवश्यक रहेको उल्लेख गर्दै यस्ता तालिमले समाजमा सकारात्मक सोच र व्यवहार विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
तालिमको सहजीकरण सी.एम.सी.–नेपालका अनिरुद्ध मुखिया तथा अस्मिता ठाकुरले गरेका थिए। तालिमले स्वास्थ्यकर्मी तथा शिक्षकहरूमा अपाङ्गता समावेशीकरण, मानव अधिकार र सम्मानजनक व्यवहारसम्बन्धी ज्ञान तथा व्यवहारिक बुझाइ अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

















Discussion about this post