धनुषा। बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित ‘मनको साथी’ परियोजनाअन्तर्गत स्वास्थ्यकर्मी तथा शिक्षकहरूका लागि अपाङ्गता समावेशीकरण र मानव अधिकारसम्बन्धी तालिम सम्पन्न भएको छ।
मंसिर १ गते गणेशमान चारनाथ नगरपालिकामा आयोजित उक्त तालिम सीबीएम ग्लोबल नेपालको सहयोग, सी.एम.सी.–नेपालको सहजीकरण तथा गणेशमान चारनाथ नगरपालिकाको लागत साझेदारीमा सञ्चालित परियोजनाअन्तर्गत आयोजना गरिएको हो।
तालिममा अपाङ्गता, अशक्तता तथा कार्यगत सीमितताबारे छलफल र प्रस्तुतीकरण गरिएको थियो। सहभागीहरूलाई समुदायमा देखिने अपाङ्गताका प्रकार, अपाङ्गताप्रतिको सामाजिक धारणा तथा प्रयोग गरिने शब्दावलीबारे प्रश्नोत्तर र मस्तिष्क मन्थनमार्फत आफ्ना अनुभव तथा विचार प्रस्तुत गर्न प्रेरित गरिएको थियो।
अपाङ्गता भएका व्यक्तिहरूको आत्मसम्मान, पहिचान र मर्यादालाई सम्मान गर्दै अपमानजनक शब्दहरूको सट्टा सम्मानजनक तथा अपाङ्गमैत्री भाषा प्रयोग गर्नुपर्ने विषयमा विशेष जोड दिइएको थियो। ‘अपाङ्ग’, ‘लाटो’ र ‘लङ्गडो’ जस्ता अपमानजनक शब्दको सट्टा ‘अपाङ्गता भएका व्यक्ति’, ‘दृष्टिविहीन’ तथा ‘श्रवणविहीन’ जस्ता मर्यादित शब्द प्रयोग गर्नुपर्नेबारे सहभागीहरूलाई जानकारी गराइएको थियो।
तालिममा नेपालको कानुनी व्यवस्था अनुसार अपाङ्गतालाई १० प्रकारमा वर्गीकरण गरिएको विषयमा समेत जानकारी दिइएको थियो। जसमा शारीरिक, दृष्टिसम्बन्धी, श्रवण, श्रवण-दृष्टिविहीन, स्वर तथा बोलाइसम्बन्धी, मानसिक वा मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तस्राव (हिमोफिलिया) सम्बन्धी, अटिजमसम्बन्धी र बहुअपाङ्गता रहेका छन्। त्यस्तै, अपाङ्गताको गम्भीरताका आधारमा पूर्ण, अति गम्भीर, मध्यम र सामान्य गरी चार प्रकारमा वर्गीकरण हुने तथा क्रमशः रातो, नीलो, पहेँलो र सेतो परिचयपत्र प्रदान गरिने व्यवस्थाबारे पनि चर्चा गरिएको थियो।
अपाङ्गतालाई केवल व्यक्तिगत वा चिकित्सकीय समस्याका रूपमा नभई सामाजिक तथा मानव अधिकारको सवालका रूपमा बुझ्नुपर्ने विषयमा तालिममा जोड दिइएको थियो। भौतिक संरचना, सञ्चार, संस्थागत व्यवस्था तथा सामाजिक दृष्टिकोणका कारण अपाङ्गता भएका व्यक्तिहरूले विभिन्न अवरोध, विभेद र कठिनाइ भोग्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै समुदायलाई पहुँचयुक्त, समावेशी तथा अपाङ्गमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याइएको थियो।
अपाङ्गता भएका व्यक्तिहरूले राज्यबाट प्राप्त गर्ने सेवा, सुविधा, अवसर तथा अधिकार दयाका आधारमा नभई समान नागरिक अधिकारका रूपमा प्राप्त गर्नुपर्ने विषयमा पनि छलफल गरिएको थियो। उनीहरूको क्षमता, सीप र सम्भावनाको सम्मान गर्दै आफूले रोजेको जीवन समुदायमै स्वतन्त्र रूपमा बाँच्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा सहभागीहरूलाई सचेत गराइएको थियो। साथै, अपाङ्गता गरिबी न्यूनीकरण, रोजगारी, उत्पादकत्व, समान अवसर तथा समावेशी विकाससँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताइएको थियो।
तालिममा परियोजनाअन्तर्गतका १५ वटा फोकस सामुदायिक विद्यालय तथा तीनवटा फोकस स्वास्थ्य चौकीका गरी २० जना शिक्षक तथा स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो। तालिमको सहजीकरण सी.एम.सी.–नेपालका कार्यकारी निर्देशक रामलाल श्रेष्ठले गरेका थिए।
तालिमले विद्यालय तथा स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा थप समावेशी, संवेदनशील र मानव अधिकारमैत्री बनाउन शिक्षक तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

















Discussion about this post