महोत्तरी/मंसिर ४ गते । महोत्तरीको गौशाला नगरपालिका–१, सानो कुशमाडीस्थित उखुबारीमा एक महिलाको शव फेला परेको छ। मृतक स्थानीय ६५ वर्षीया विणामाया पुलामी रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय गौशालाका अनुसार पुलामी बिहीबार घाँस काट्न घरबाट निस्किएकी थिइन्। तर, उनी शुक्रबार बिहान सानो कुशमाडीस्थित उखुबारीमा मृत अवस्थामा फेला परेकी हुन्।
प्रहरी निरीक्षक मधुसुदन विश्वकर्माका अनुसार शवको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ। मृतकको घाँटीमा गम्छाले कसेको जस्तो देखिएकाले घटनालाई शंकास्पद रूपमा लिँदै प्रहरीले अनुसन्धान अघि बढाएको उनले बताए।
घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले तालिम प्राप्त कुकुरसमेत परिचालन गरी घटनास्थलमा अनुसन्धान गरेको जनाएको छ।
महिलाको मृत्युको कारण, घटनामा संलग्न व्यक्ति तथा घटनाको अन्य विवरण हालसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको छ।

















Discussion about this post