जनकपुरधाम/मंसिर १ गते । महिला तथा बालबालिकामाथि हुने यौनजन्य हिंसा, दुर्व्यवहार र शोषण न्यूनीकरण गर्दै सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले जनकपुरधाममा सचेतनामूलक र्याली आयोजना गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत र्याली आयोजना गरेको हो ।
‘यौनजन्य हिंसाको अन्त्य गरौँ, सुरक्षित समाजको निर्माण गरौँ’ भन्ने मूल नाराका साथ निकालिएको र्यालीमा करिब १५० जनाको सहभागिता रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट बिहान ७ बजे सुरु भएको र्याली कदमचोक हुँदै रेल्वे स्टेसनसम्म पुगेर समापन भएको थियो ।
र्यालीमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल, सशस्त्र प्रहरी बलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायब उपरीक्षक खनालले यौनजन्य हिंसा कुनै एक व्यक्ति वा परिवारको मात्र समस्या नभई समग्र समाजको साझा चुनौती भएको बताए ।
उनले यस्ता घटनाको अन्त्यका लागि कानुनी कारबाहीसँगै सामाजिक चेतना, पारिवारिक संस्कार, लैङ्गिक समानता र सामुदायिक सहकार्य आवश्यक रहेको उल्लेख गरे । महिला तथा बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार र यौन शोषण न्यूनीकरण गर्न सबैले आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।
खनालले यौनजन्य हिंसाका घटना लुकाउने तथा पीडितलाई नै दोषारोपण गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिँदै पीडितलाई निर्धक्क भएर प्रहरी तथा सम्बन्धित निकायमा उजुरी गर्न आग्रह गरे । यस्ता घटनाको रोकथाम, पीडितको संरक्षण र दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रतिबद्ध रहेको उनले बताए ।
विद्यालय तहदेखि नै यौनजन्य हिंसा, दुर्व्यवहार, व्यक्तिगत सुरक्षा तथा कानुनी अधिकारसम्बन्धी सचेतना फैलाउन सके सुरक्षित र मर्यादित समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उनको धारणा थियो ।
समुदाय र प्रहरीबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै अपराध नियन्त्रण तथा सामाजिक विकृति न्यूनीकरण गर्ने उद्देश्यले आयोजित र्यालीले यौनजन्य हिंसाविरुद्ध सामूहिक आवाज उठाउन र नागरिकस्तरमा जनचेतना अभिवृद्धि गर्न सकारात्मक सन्देश प्रवाह गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

















Discussion about this post