रौतहट/कार्तिक ३० गते । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सका तर्फबाट उत्कृष्ट प्रदर्शन गर्दै रौतहट जिल्लाको पहिचान उँचो बनाउन सफल युवा क्रिकेट खेलाडी राहुल यादवलाई मौलापुर नगरपालिकाले स्वागत तथा सम्मान गरेको छ ।
मौलापुर नगरपालिकाकी नगरप्रमुख रीना कुमारी साहले आज राहुल यादवलाई स्वागत गर्दै सम्मान गरेकी हुन् । सम्मानका क्रममा नगरप्रमुख साहले राहुलको खेल प्रतिभा, मेहनत र लगनशीलताको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गरिन् ।
एनपीएलमा राहुलले देखाएको उत्कृष्ट प्रदर्शनले रौतहटसहित समग्र मधेश प्रदेशका खेलप्रेमीहरूमा उत्साह थपेको छ । सीमित अवसर र विभिन्न चुनौतीका बाबजुद राष्ट्रिय स्तरको प्रतियोगितामा आफ्नो प्रतिभा प्रस्तुत गर्न सफल राहुलको उपलब्धिलाई स्थानीय स्तरमा युवा खेलाडीका लागि प्रेरणाको रूपमा हेरिएको छ ।
राहुलको सफलताले जिल्लाको गौरव बढाएको उल्लेख गर्दै नगरप्रमुख साहले उनको खेल जीवन थप सफल र उज्ज्वल बन्ने विश्वास व्यक्त गरिन् ।
साथै, आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्दै थप सफलता हासिल गर्न सकून् भन्ने कामनासहित उनलाई शुभकामना दिइएको छ ।

















Discussion about this post