महोत्तरी/मंसिर १ गते। महिला तथा बालबालिकामाथि हुने यौनजन्य हिंसा, दुर्व्यवहार तथा शोषण न्यूनीकरण गरी सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले महोत्तरीको जलेश्वरमा सचेतनामूलक प्रभातफेरी र्याली आयोजना गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय महोत्तरी अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको आयोजनामा मंगलबार प्रभातफेरी सम्पन्न भएको हो ।
‘यौनजन्य हिंसाको अन्त्य गरौँ, सुरक्षित समाजको निर्माण गरौँ’ भन्ने मूल नारासहित सञ्चालन भइरहेको तीनदिने सचेतनामूलक कार्यक्रमअन्तर्गत र्याली निकालिएको आयोजकले जनाएको छ ।
जलेश्वर नगरपालिका–२ स्थित महेन्द्र चोकबाट बिहान ८ः३० बजे सुरु भएको प्रभातफेरी महादेव मन्दिर, साहुजीपट्टी हुँदै पुनः महेन्द्र चोकमा पुगेर बिहान ९ः१० बजे समापन भएको थियो ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयकी प्रहरी नायब उपरीक्षक अञ्जना श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक भोला कुमार भट्ट, विभिन्न सरकारी कार्यालय तथा संघसंस्थाका प्रमुख एवं प्रतिनिधि र विभिन्न विद्यालयका विद्यार्थी गरी करिब १५० जनाको सहभागिता रहेको थियो ।
प्रभातफेरीमार्फत महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसा, दुर्व्यवहार र शोषणका घटनाबारे समुदायस्तरमा सचेतना फैलाइएको थियो । साथै यस्ता अपराधको रोकथाम तथा नियन्त्रणका लागि नागरिकलाई जागरुक बनाउँदै पीडितमैत्री वातावरण निर्माण गर्नुपर्ने सन्देश प्रवाह गरिएको थियो ।
यौनजन्य हिंसा नियन्त्रण प्रहरीको मात्र जिम्मेवारी नभई परिवार, विद्यालय, समुदाय र सम्बन्धित सबै सरोकारवाला निकायको साझा दायित्व रहेको सन्देशसमेत कार्यक्रममार्फत दिइएको छ ।
सुरक्षित र हिंसामुक्त समाज निर्माणका लागि सामूहिक प्रतिबद्धता, समयमै सूचना तथा उजुरी गर्ने संस्कार र समुदायस्तरमा निरन्तर सचेतनामूलक अभियान आवश्यक रहेकोमा कार्यक्रमले जोड दिएको छ ।

















Discussion about this post