जनकपुरधाम/मंसिर १ गते । मैथिली भाषा तथा मिथिलाको मौलिक लोकसंस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु भएको छ ।
मैथिली विकास कोषको आयोजनामा मंगलबारदेखि कोषको भवनमा कार्यशाला सुरु भएको हो । सामाचकेवा पर्वसँग जोडिएका परम्परागत विधि, सांस्कृतिक महत्व, लोकगीत, नृत्य तथा मौलिक अभ्यासबारे नयाँ पुस्तालाई जानकारी गराउने लक्ष्यसहित कार्यशाला सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
कार्यशालामा सामाचकेवा पर्वको परम्परागत स्वरूप, माटोका विभिन्न आकृति निर्माण गर्ने कला, लोकगीत तथा सामूहिक सांस्कृतिक अभ्यासबारे सहभागीलाई व्यवहारिक ज्ञान प्रदान गरिनेछ । पछिल्लो समय आधुनिकताको प्रभावका कारण ओझेलमा पर्दै गएका मौलिक परम्परा र लोककलाको संरक्षणमा समेत कार्यशालाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले सामाचकेवा मिथिलाको विशिष्ट लोकपर्व मात्र नभई दाजुभाइ र दिदीबहिनीबीचको अटुट प्रेम, स्नेह र आत्मीयताको प्रतीकसमेत रहेको बताए ।
उनले नयाँ पुस्तामा मौलिक लोकसंस्कृतिप्रतिको आकर्षण घट्दै गएको अवस्थामा यस्ता कार्यक्रमले मिथिलाको सांस्कृतिक पहिचानलाई जीवन्त राख्न सहयोग पुग्ने धारणा व्यक्त गरे । सामाचकेवाको मौलिक स्वरूप, परम्परागत गीत, सामूहिक खेल तथा सांस्कृतिक अभ्यासलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न सबैको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ छ ।
मिथिलाञ्चलमा कार्तिक पूर्णिमादेखि सुरु हुने सामाचकेवा पर्वमा दिदीबहिनीहरूले माटोबाट सामा, चकेवा लगायतका विभिन्न आकृति निर्माण गरी परम्परागत गीत गाउने र सामूहिक रूपमा खेल्ने चलन छ । यस पर्वमार्फत दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा रहिआएको छ ।
पाँच दिनसम्म सञ्चालन हुने कार्यशालाले सामाचकेवाको मौलिकता, परम्परागत कला र सांस्कृतिक महत्वलाई संरक्षण गर्दै भावी पुस्तामा यसको हस्तान्तरण गर्न योगदान पुर्याउने विश्वास आयोजकले लिएको छ ।
मैथिली भाषा, कला, साहित्य तथा मिथिलाको लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि मैथिली विकास कोषले विभिन्न सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

















Discussion about this post