लहान /पुस ५ गते। सिरहाको लहानस्थित चौधरी आँखा अस्पतालको अवस्था हेर्दा नेपालको सरकारी सेवा प्रणालीको वास्तविक चित्र झल्किन्छ। तर शुक्रबार सजिलो पोस्ट अनलाईनका संचारकर्मी रौनक यादवले आफ्नो बुवालाई उपचारका लागि अस्पताल पुर्याउँदा वहालाई त्यहाँको चरम लापरबाही र कर्मचारीको असंवेदनशील व्यवहारले खेप्नु परेको छ।
अस्पतालको ८५–८६ नम्बरको कोठामा रहेका कर्मचारीहरूले आफूलाई ‘ठूलो कर्मचारी’ भएको घमण्डमा बिरामी र उनका आफन्तप्रति दुर्व्यवहार देखाएको छ । सानो समस्यामा पनि सहयोग नगर्ने र बिरामीको पीडा बुझ्ने कुनै चेष्टा नगर्ने व्यवहारले सरकारी सेवा प्रणालीप्रति गम्भीर प्रश्न खडा गरेको छ। एक साधारण बिरामीलाई उपचार गराउनकै लागि घण्टौँ कुर्नुपर्ने र कर्मचारीको अहंकारको सामना गर्नुपर्ने बाध्यताले स्वास्थ्य सेवा सहज र सर्वसुलभ हुनुपर्ने मूल उद्देश्यलाई कुण्ठित बनाएको छ। बिरामीको दर्दनाक अनुभवले ‘स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार हो’ भन्ने नीतिमा नै प्रश्न उठको छ।‘यो अस्पताल एउटा उदाहरण मात्र हो, जहाँ बिरामी उपचारको लागि होइन, झन् दुःख पाउन आउँछन्,’ एकजना बिरामीका आफन्तले आक्रोश व्यक्त गरेको छ ।
अस्पतालमा कार्यरत कर्मचारीको अनुशासनहीनता र असंवेदनशीलताले स्वास्थ्य प्रणालीको सुधारमा तदारुकता आवश्यक भएको देखिन्छ। राज्यले जनताको स्वास्थ्य सेवा सहज बनाउन भने पनि व्यवहारमा यो देखिँदैन। अस्पताल प्रशासनले कर्मचारीको आचरण र सेवा प्रवाह सुधार गर्न तत्काल कदम चाल्नुपर्ने देखिएको छ। स्वास्थ्य मन्त्रालयले पनि यस्ता गम्भीर घटनालाई ध्यानमा राख्दै आवश्यक निर्देशन र सुधार कार्यक्रम लागू गर्नुपर्ने देखिन्छ।
चौधरी आँखा अस्पतालको यो घटना एउटा प्रतिनिधि घटना हो, जसले नेपालका अस्पतालहरूको यथार्थ स्थिति उजागर गरेको छ। स्वास्थ्य सेवा भनेको जनताको आधारभूत अधिकार हो। त्यसलाई गम्भीरतापूर्वक नलिनु जनताप्रति अन्याय मात्र होइन, राज्यको जिम्मेवारीप्रतिको उदासीनता पनि हो। अब प्रश्न उठ्छ: कहिले सुध्रिन्छ हाम्रो सेवा प्रणाली?
Discussion about this post