मंसिर ९ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनमत पार्टीको नगर पार्टी कार्यलय उद्घाटन गर्नुभएको छ।
शनिबार लहान नगरपालिकाका-११ पडरिया चौकमा पार्टीको जनमत पार्टीको नगर कार्यलय स्थापना गर्नुभएको हो।मुख्यमन्त्री सिंहले रिवन काटेर उक्त कार्यलय उद्घाटन गर्नुभएको हो। कार्यलय उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले भ्रष्टाचारमुक्त मधेश बनाउनेगरी प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ ।
आफू मुख्यमन्त्री हुनुभन्दा अगाडिको मधेस सरकारले ८७ अर्व बजेट चलाउन बेथिति विकृति भित्र्याएर भ्रष्टाचारलाई प्रश्रय दिएको उहाँले आरोप लगाउनुभयो । सुशासनको प्रत्याभूति दिलाउन तमाम वेथिति र बिचौलियाको बिगबिगीलाई समाप्त पार्न मधेस प्रदेश सरकार काम गरिरहेको उहाँको दावी छ । मुख्यमन्त्री सिंहले भन्नुभयो, ‘प्रदेश सरकारले ६४ वटै प्रदेशसभाको क्षेत्रमा गौरवको योजनाहरु सफल बनाउन बजेट विनियोजन गरेको छ । यसअघि कार्यकर्ता पाल्न वडा स्तरसम्म बजेट विनियोजन गरेर वेथिति भित्र्याएको थियो ।’
अहिले प्रत्येक गाउँपालिकामा ८५ लाख नगरपालिकालाई एक करोड, उपमहानगरपालिका लाई एक करोड २५ लाख र महानगरपालिकालाई एक करोड ७५ लाख बजेट उपलब्ध गराइएको उहाँको भनाइ छ । मधेश प्रदेशमा रहेको खोलानालाबाट अवैद्य रुपमा निकासी भइरहेको गिटी बालुवा ननिकाल्न निर्देशन दिइएको मुख्यमन्त्री सिंहले प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘आइएको मापदण्ड विपरित हुने गिटी वालुवा निकासी कार्य गर्न नहुने प्रदेश सरकारको निर्देशन छ ।’
लहानको खुटी नहरको विषयमा प्रदेशसभामा उठेको विषलाई आफूले गम्भीरतापूर्वक लिएर निरीक्षण गरेको उहाँले बताउनुभयो । खुटी नहरबाट ९३५ विघा जमीनमा सिँचाइको लागि प्रदेश सरकारबाट हेडवक्र्स निर्माण भएको अवस्थामा नहरमा लहान नगरपालिकाले सहरी क्षेत्रमा ड्रेन बनाउने कार्य बन्द गरेर नहरलाई नहरकै रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्यहरु बालेश्वर यादव, सुदिपराज कुशवाहा रामेन्द्र मण्डल र जिल्ला अध्यक्ष विनोदकुमार यादव लगायतका नेताहरुले सिरहा जिल्लाको अवस्था र समस्याबारे ध्यान आकर्षण गराउनु भएको थियो । जनमत पार्टी लहान नगरपालिकाका नगर अध्यक्ष पुगेन्द्र यादवको अध्यक्षतामा नगर कार्यलय उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो।
Discussion about this post