असोज १३ गते । बाढीको चपेटामा परी महोत्तरीका दुई युवकले ज्यान गुमाएका छन् । सोनीखोलाको बाढीमा परी १६ वर्षीय रोहित साह र बर्दिबास–१०, झ्याउरे भाङ्ग्रेगाउँका २१ वर्षीय मानबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सोनीखोलाको बाढी हेर्न गएका साह बाढीसँगै बगेका हुन् भने शिरखोला तर्ने क्रममा लडेका थिङको निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले बताए ।
यसैबीच, सोनीखोलाको बाढीले बगाएकी एक १२ वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ । रोहित साहसँगै उनी पनि बाढी हेर्न गएकी थिइन् । रासस
Discussion about this post