जनकपुरधाम/श्रावण ३ गते। प्रत्येक वर्ष झैँ यस वर्ष पनि साउने सङ्क्रान्तिमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वरमा अवस्थित कपिलेश्वरनाथ महादेव मन्दिरमा मेलाको आयोजना हुने भएको छ।
कपिलेश्वरमा अवस्थित प्राचिनकालीन कपिलेश्वरनाथ महादेव मन्दिरमा साउनको पहिलो साताको सोमबारदेखि साउने मेला हुन लागेको हो। साउन महिनामा पर्ने प्रत्येक सोमबार शिवालयहरुमा श्रद्धालु भक्तजनहरुको भीड लाग्ने हुँदा कपिलेश्वरनाथ महादेव मन्दिरमा सो को भव्य तयारी गरिएको कपिलेश्वरनाथ युवा कमिटिका अध्यक्ष मनोजकुमार साहले बताए ।
कपिलेश्वरनाथ युवा कमिटीले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त मेलाबारे जानकारी दिदै साउन ५ गते शनिबार कलश यात्रा संगै साउने सोमबारी मेलाको शुरुवात हुने अध्यक्ष साहले बताए । यसका साथै साउन ७ गते सोमबारबाट साउन महिना भरी भव्य सन्ध्या आरतीको आयोजना गरिने छ । स्थानीय कपिलेश्वरनाथ युवा कमिटिका युवाहरुले प्राचिन यो मन्दिरको ऐतिहासिकताको प्रचार प्रसार गर्ने उद्देश्यले प्रत्येक वर्ष शिवरात्री मेलाका साथै साउन महिनाको सोमबारी मेलाको भव्य आयोजन गर्दै आईरहेको छ । श्रद्धालु भक्तजनलाई भगवान शिवको दर्शन गर्दा असहज परस्थितिको सिर्जना नहोस त्यसका लागि व्यवस्था समेत मिलाइएको अध्यक्ष साहले बताए ।
त्रेता यूगमा मिथिलाका राजा शिरध्वज जनकले राजधानी जनकपुरधामको चारै कूनामा महादेव मन्दिरको स्थापना गरेका थिए । जसमध्ये कपिलेश्वर नाथ महादेव मन्दिरको स्थापना समेत गरेका थिए । स्थानीयवासहरुका अनुसार कपिलेश्वरनाथ महादेव मन्दिरमा हालसम्म १८ वटा महन्थ भई सकेका छन् ।
उक्त कार्यक्रममा जनकपुरधाम वडा नम्बर १६ का अध्यक्ष रामचन्द्र पजियारले आयोजना हुन लागेको साउन मेलालाई व्यवस्थित बनाउन नेपाल प्रहरी तथा ट्राफिक प्रहरीसँग समेत समन्वय गर्ने बताउनुभयो।
यस्तै कमिटीका सल्लाहकार समेत रहनु भएका श्रीनारायण साहले मन्दिरको इतिहास र महत्वबारे जानकारी दिनुहुँदै बर्सेनि लाग्दै आएको साउने मेला नेपाल तथा भारतका लाखौँ भक्तजन आउने गरेको बताउनुभयो।
आयोजना हुने मेलाको कलश यात्राका लागि जनकपुरधामको गंगासागरबाट जल ल्याइने छ भने साउन महिनाभर मन्दिरमा प्रत्येक सोमबार साँझ ७ बजे सन्ध्या आरतीको आयोजना गरिने छ।

















Discussion about this post