जेठ १ गते । सर्लाहीमा गएको साउन २५ गते घाँटी रेटेर एक भारतीय युवकको हत्या गरेको आरोपमा पक्राउ परेका अर्का भारतीय युवक जेल चलान भएका छन् । हत्यामा संलग्न भएको आरोपमा एक महिनाअघि पक्राउ परेका भारत सीतामढी लक्ष्मीपुर सोनवर्षा घर भएका २६ वर्षीय रञ्जित बैठालाई जिल्ला अदालत सर्लाहीले सोमबार पुर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएको हो ।
भारतको सीतामढी घाना पुरौना भिलेज पोष्ट मनियारी– ५ घर भएका २३ वर्षीय अभिषेक राजको हत्यामा संलग्न रहेको आरोपमा बैठालाई सर्लाही प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थ्ति गराएको थियो । गएको साउन २५ गते पूर्वपश्चिम राजमार्गमा पर्ने सर्लाहीका हरिवन नगरपालिका–४ स्थित लखन्देही खोला किनारमा अभिषेकको धारिलो हतियारले काटेको अवस्थामा टाउको फेला परेको थियो ।
त्यसको दुई दिनपछि सर्लाहीकै लालबन्दी नगरपालिका–१७ कालिन्जोर पुल नजिकै रहेको जंगलमा उनको बाँकी शरीरको भाग फेला परेको थियो । बैठासहितको समूहले व्यक्तिगत रिसइबीको कारण अभिषेकको हत्या गरेर टाउको र शरीर अलग अलग ठाउँमा फालेको प्रहरी अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । उनलाई घटनाको ९ महिनापछि गएको वैशाख ४ गते प्रहरीले पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाएको थियो ।
Discussion about this post