माघ १० गते। दिनदहाडै धनुषा र महोत्तरीको सिमानामा पर्ने रातु पुलनजिकै एक जना व्यापारीको ९ लाख ६० हजार रुपैयाँ लुटिएको छ ।
मंगलबार बिहान साढे १० बजेतिर रातु पुलनजिक लुटेराको समूहले धनुषाको बरहरीको चित्रा आयल स्टोरका ध्रुवकुमार बस्नेतको ९ लाख ६० हजार रुपैयाँ लुटेको हो । बस्नेत पेट्रोलियम पदार्थका लागि महोत्तरीको बर्दिवासमा रहेको बैंकमा पैसा जम्मा गर्न जान लागेका थिए ।
एल्फाबेट खुल्न नसकेको कालो रङको ५३१ नम्बरको अपाची मोटरसाइकलमा आएका हतियारधारी लुटेराको समूहले बस्नेत सवार मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएर लडाएको थियो । त्यसपछि लुटेराको समूहले हतियार देखाएर बस्नेतले झोलामा रहेको पैसा लिएर भागेको पेट्रोलियम डिलर एसोसिएसन जनकपुरधामका महासचिव सत्रुधन यादवले जानकारी दिए ।
पेट्रोलियम डिलर एसोसिएन जनकपुरधामका अध्यक्ष विष्णु देव साहले पैसा लुटेर फरार भएकाहरूको खोजी गर्न र कानुनी कारबाही गर्न माग गरेका छन् । मधेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामबाबु महतोले पैसा लुट्ने गिरोहको खोजी भइरहेको बताए । उनले लुटेराको समूहको खोजीका लागि महोत्तरी र धनुषाको प्रहरी टोली परिचालन गरिएको बताए ।

















Discussion about this post