माघ ७ गते। भारतको उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिरको उद्घाटन हुने दिन भगवान रामको ससुराली जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दियो बाल्ने तयारी भइरहेको छ।
जानकी मन्दिरका छोटे महन्त रामरोशन दासका अनुसार राम मन्दिरको प्राण प्रतिष्ठाका दिन १ लाख २५ हजार दियो बाल्नुका साथै विशेष आरतीको पनि आयोजना गरिने छ। साथै त्यो दिन उत्सवको रुपमा पनि मनाउने योजना रहेको उनले बताए।
जानकी मन्दिरले घरघर तथा मठमन्दिरमा दिप प्रज्वलन गर्न अपिल गरेको छ । त्यसको लागि मन्त्रालय र विभिन्न कार्यालयललाई जानकी मन्दिरले पत्र पठाएर अपिल गरेको छ । यसअघि जनकपुरधाम उपमहानगरपालिकाले समेत दीप प्रज्वलन गर्न अपिल गरेको थियो ।
वर्षौंको विवादपछि अदालतको निर्णयअनुसार अयोध्यामा भगवान रामको विशाल मन्दिर निर्माण भई समुद्घाटन हुँदैछ । त्यस अवसरमा धेरै पालिकाले दीपोत्सव गर्न आग्रह गरेका छन् ।
राम मन्दिरको प्राण प्रतिष्ठाका लागि रामको ससुरालीबाट सुनचाँदीका गहना, लत्ताकपडा, फलफूल लगायत ३००० हजारभन्दा बढी कोसेली अयोध्या पठाइएको छ।

















Discussion about this post