जनकपुरधाम/मंसिर ११ गते। धनुषा र सिरहाको सीमामा पर्ने कमला नदीमा आज बिहानैदेखि धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितको घुइँचो लागेको छ । कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ गाउँगाउँबाट देवता मेला भर्न श्रद्धालुको घुइँचो लागेको हो ।
प्रत्येक वर्षजस्तै यस वर्षको कार्तिक पूर्णिमामा पनि कमला नदीको दृश्य रोमाञ्चक बनेको छ । पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामी–झाँक्रीहरु हातमा बलेको आगो सहितको माटोको ढकना (भाडा) र बेतको लाठी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै यहाँ आउने गर्दछन् ।
‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी…’ भन्नेजस्ता आ–आफनो इष्ट देवताहरुको नाम फलाक्दै धामीझाँक्री मादल, झ्याली, ढोलपिपहीजस्ता बाजाको तालमा भक्तहरु कमला नदीमा सपथ ग्रहण गर्न पुगेका हुन् । धनुषा र सिरहाको सीमामा पर्ने कमला नदीमा धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितहरुको आज सोमबार बिहान घुँइचो लागेको हो ।
सिरहाको बन्दीपुरमा पर्ने उत्तरबाहिनी, चिकना, निर्दन्ना, चतरी, सारश्वर, बरेरबा, फूलबरिया र भारतको बिहारको जयनगरको कमला नदीको दुबैतिर स्नान गर्ने तथा नवधाधीझाँक्रीहरुहरुको जतातै घुइँचो देख्न सकिन्छ । करिब २ दशक अघिसम्म इनर्वा घाटमा अत्यधिक भीड हुने गरे पनि अहिले भने सहजता हुने ठाउँहरूमा भिडभाड देखिने गरेको छ। सूर्योदयसँगै सोमबार बिहानै हजारौँ नव धामीझाँक्रीहरुले स्नान गरी पूजापाठ गरी पवित्र नदीमा प्रथम स्नान गरेको धामीझाँक्रीसँग आशिष लिने चलन छ । प्रसादका रुपमा कमला नदीको बालुवा, ढुंगा, फूल जे पाए त्यही लिएर श्रद्धालुहरू प्रसन्न हुँदै फर्किन्छन् । आइतबार रातिबाटै कमला नदी किनारमा भगत (देउता) खेल्नहरुको घुइँचो लागेको थियो । आफनो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीवासका लागि कात्तिक पूर्णिमामा स्नान गर्ने गरिन्छ ।
कमला नदीमा आएर सपथ लिएपछि धामीझाँक्र्रीहरु पाको हुने विश्वास गरिन्छ । भारतहित सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी लगायत दर्जनौ गाउँबाट लावालस्करका साथ उफ्रँदै आएका धामीझाँक्रीले तन्त्रमन्त्र गरेको दृश्य हेर्न निकै ठूलो भीँड लाग्ने गर्दछ ।

















Discussion about this post