धनुषा/असोज ७ गते । धनुषाको बिगही खोलामा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर धनुषामा एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुने बटेश्वर गाउँपालिका–१, धुमासन टोलका बिनोद महतोका ११ वर्षीय छोरा धीरज कुमार महतोको मृत्यु भएको हो ।
शनिबार दिउँसो साथीहरुसँगै बिगही खोलामा खेल्न गएका थिए । त्यहाँ ढुंगा–गिट्टी उत्खनन् गर्नका लागि खनिएको खाल्डोमा जमेको पानीमा उनीहरु नुहाउन खोजेका थिए । त्यहीबेला चिप्लिएर खाल्डोमा खसेका उनी लामो समयसम्म बाहिर ननिस्केपछि सँगै गएका उनका साथीहरुले स्थानीयलाई बोलाएका थिए ।स्थानीयले उद्धार गरेर उपचारका लागि अस्पताल लैजाने प्रयास गरे पनि बीचमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।
बटेश्वर गाउँपालिकाको कार्यालयले तीन वर्ष अघि सो खोलाबाट ढुंगा–गिट्टी उत्खनन गर्न ठेक्का लगाएको थियो । पछि ठेक्का रद्द गरिए पनि ठेकेदारले लुकीचोरी डोजर लगाएर उत्खनन जारी राखेका थिए । त्यही क्रममा खोलामा खनिएको ठूलो खाल्डोमा पानी जमेको छ । सोही खाल्डोमा परेर बटेश्वर गाउँपालिका–१ का धिरज कुमार महतोको ज्यान गएको हो ।
प्रहरीले घटनाबारे जानकारी पाएपछि अनुसन्धान थालिएको जनाएको छ ।

















Discussion about this post