भदौ ४ गते । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।
देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । केही ठाउँमा अहिले रोकिए पनि फेरि पानी पर्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुन सक्रिय भएसँगै भारतको उत्तर मध्यप्रदेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा परेको छ ।
मनसुनको न्यून चापीय प्रणाली पनि सरदर स्थानभन्दा माथितिर सरिरहेकाले आज र भोलि लगातारजसो पानी पर्ने सम्भावना छ । कँडेलका अनुसार देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ । दिउँसो कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार आज राति पश्चिमी क्षेत्रमा अति ठूलो पानी पर्ने सम्भावना छ ।
मंगलबार देशभर सामान्यतया बदली रहनेछ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

















Discussion about this post