महोत्तरी/श्रावण २१ गते। महोत्तरीको पिपरा गाउँपालिका—३ की ३२ वर्षीया काजल कुमारी देवी दासलाई बोक्सीको आरोपमा कु टपिट गरेको आरोपमा प्रहरीले उनको ३५ वर्षीय पति विनोद कुमार दास र उनकी पहिलो श्रीमती ३३ वर्षीया शिला देवी दासलाई पक्राउ गरेको छ ।
आरोपित शिला देवी दासलाई ०८० साउन १९ गते साँझ घरबाट गिरफ्तार गरेको छ र अर्का आरोपित विनोद कुमार दासलाई साउन २० गते गिरफ्तार गरेको छ । आरोपितहरूले पीडितलाई बोक्सीको आरोपमा कुटपिट गर्नुका साथै झुक्याएर सम्बन्ध विच्छेदको कागजमा सही छाप गराएको भन्दै पीडितले साउन १९ गते जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा उजुरी दिएका थिए ।
विगत केहि वर्षदेखि बोक्सीको आरोपमा कुटपिट गर्दै आएकोमा २०८० असार महिनाको पहिलो हप्ता धनुषा जिल्लाको मुखियापट्टी मुसहरनीयाँ गाउँपालिका—४ स्थित फेछा गाउँमा हनुमानको मन्दिरमा एक जना धामीकोमा लगी भुत प्रेत हटाउन १० दिन राखेको उजुरीमा उल्लेख छ ।
पति, सौता र सासुले १० दिन सम्म सो ठाउँमा राखेको र सो अवधिमा दुई ओटा परेवाको बली र एक दिन कुभिण्डोको बली दिन लगाएको पीडित काजल कुमारी दासको भनाइ छ । पीडितका अनुसार धामीले यसको बोक्सी मैले ठिक गरेको भनेपछि आरोपितहरूले यो बोक्सी नै हो प्रमाणित भयो अब यसलाई घरमा लगेर ठिक पार्छु भनि घरमा ल्याएका थिए ।
पछिल्लो समय पति विनोद र पहिलो श्रीमती शिला देवी दासले ०८० असार ३१ गते दिउँसो र राती बोक्सीको आरोपमा मरनासन्न हुने गरी कुटपिट गरेको पीडित काजल कुमारी देवीले बताउनु भयो । पीडितलाई साउन १ गते बिहान आरोपित पति र सौताले झुण्ड्याएर हत्या गर्ने बताएपछि भागेर ज्यान जोगाई गाउँकै एक जना जनप्रतिनिधिको घरमा सरण लिन पुगेका थिए ।
पीडित काजल कुमारी देवी साउन १ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, महोत्तरीमा बोक्सीको आरोपमा पति विरुद्ध उजुरी दिन जाँदा प्रहरीले घरेलु हिंसाको निवेदन लेखेको र साउन २ गते घाउँ जाँच गराई साउन ४ गते दुबै पक्ष बिच छलफल गराएका थिए ।
छलफल रोकेर दुबै पक्षलाई बाहिर सहमति गरेर आउँन भनिएकोमा प्रहरी कार्यालय बाहिर झुक्याएर पति बिनोदन कुमार दासले साउन ४ गते १ लाख ५ हजार रुपियाँ दिएर सम्बन्ध विच्छेदको कागजातमा सही छाप गराएको पीडित काजल कुमारी देवीले दुःखेसो पोखिन् । विवाह भएदेखि आरोपित पति विनोद कुमार दासले कुटपिट गरी पाँच पटक गर्भपत समेत गराई आफूलाई थाहै नदिइकन परिवार नियोजन समेत गराइ दिएको पीडित काजल कुमारी देवीको भनाइ छ ।
पीडितले उजुरी दिन जाँदा प्रहरीले नसुन्ने र उजुरी लिन नमानेका कारण उजुरी प्रक्रियामा सहयोग गर्न र न्यायका लागि पहल गर्न पीडितले इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानलाई अनुरोध गरेकी थिइन् ।
पीडितलाई न्यायका लागि पहल गर्न र उजुरी प्रक्रियामा सहयोग गर्न इन्सेक, ओरेक, तराई मानव अधिकार रक्षक सञ्जालका प्रतिनिधि, कानून व्यवसायी र पत्रकार जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।
‘विनोदकी पहिलो श्रीमती शिला देवीलाई घरबाटै शुक्रबार पक्राउ गरेका थियौं । विनोद त्यतिबेला घरबाट निस्किसकेका रहेछन् । हामीले उनी भाग्न सक्ने सम्भावित स्थानहरूमा सर्च गरेका थियों, तर शुक्रबार फेला पार्न सकेनौं । यद्यपी शनिबार उनी आफैं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भए,’ जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलिपकुमार गिरीले भने, ‘जाहेरीमा अभियुक्त बनाइएका धामी दिनेश यादवलाई पनि खोजिरहेका छौं । उनी चाँडै पक्राउ पर्नेमा विश्वस्त छौं ।’
यातनाबाट कमजोर काजलको लडेर टाउको फुट्यो
लामो समयदेखि घरेलु यातना खेप्दै आएकी काजलको शरण लिएको छिमेकीको घरको खाटबाट लड्दा टाउको फुटेको छ । खाटमा बसिरहेको अवस्थामा रिँगटा लागेर खस्दा टाउको फुटेको हो । उनको टाउकोमा तीनवटा टाँका लगाइएको छ । आफूलाई यातना दिनेलाई पक्राउ गरेर अनुसन्धान थालेकोमा भने न्याय पाउने आस जगाएको उनले बताइन् ।














Discussion about this post