सप्तरी/असार २८ गते। सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष रुवी गुप्ताविरुद्ध परेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ ।
बलान बिहुल गाउँपालिकाको वडा नम्बर ४ को भवन निर्माणमा निवर्तमान उपाध्यक्ष गुप्तासहित ९ जनाले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ साल वैशाख ४ गते विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।
विशेष अदालतका न्यायाधीश यमुना भटराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको संयुक्त इजलासले भ्रष्टाचार मुद्दामा बुधबार उपाध्यक्ष गुप्तासहित ९ जनालाई नै दोषी ठहर गरेको हो ।
उनीहरूले वास्तविक रुपमा काम भएको भन्दा फरक पारेर नापी किताबमा बढी रकम देखाएर वडा कार्यालय निर्माणमा भ्रष्टाचार गरेको ठहर भएको छ ।
उक्त मुद्दामा गुप्तासहित तात्कालीन प्रमुख प्रसासकीय अधिकृत महेशकुमार यादव, योजना प्रमुख रमेश मरिक यादव, सह लेखापाल सुभाष चन्द्र लाल, प्राविधिक शाखा प्रमुख सन्तोषकुमार रजक साथै उपभोक्ता समितिका पदाधिकारीहरूलाई पनि विशेष अदालतले दोषी ठहर गरेको हो ।















Discussion about this post