महोत्तरी/चैत १९ गते।महोत्तरीको लोहारपट्टी नगरपालिका– ७ स्थित रामदेव जनता माध्यमिक विद्यालयमा गार्डका रुपमा खटाइएका शिक्षक विक्रमकुमार महतोलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
एसइईको दोस्रो दिन गणित विषयको परीक्षामा ह्वाट्सएपबाट प्रश्नपत्र बाहिर पठाएर उत्तर रिसिभ गरेको भेटिएपछि उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडी र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रकाश मल्लसहितको अनुगमन टोलीले उनलाई परीक्षा मर्यादाविपरीत कार्य गर्दै गर्दा पक्राउ गरेको हो ।
सोहि विद्यालयमा खटाइएका अर्का एक गार्डलाई ड्युटीबाट हटाइएको छ । प्रजिअसहितको अनुगमन टोलीले जिल्लाको पिपरा, रतौली, भ्रमरपुरा र महोत्तरीस्थित परीक्षा केन्द्रहरु अनुगमन तथा निरीक्षण गरेको थियो । सबै केन्द्रमा चिट चोरीको अवस्था पाइएको थियो । प्रजिअ पहाडीले परीक्षा अझै मर्यादित नभएको बताउँदै परीक्षार्थी, केन्द्राध्यक्ष, गार्ड र परीक्षामा खटाइएका कर्मचारीसहित सरोकारवाला सबैलाई थप जिम्मेवार हुन आग्रह गरे ।
पक्राउ परेका शिक्षक महतो तीन वर्षदेखि सोहि विद्यालयमा प्रावि तहका स्थायी शिक्षक हुन् । उनीमाथि परीक्षा संचालन निर्देशिका र मापदण्डका आधारमा कारवाही हुने प्रजिअ पहाडीले बताए ।
Discussion about this post