जनकपुरधाम/कार्तिक १८ गते। ‘समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने मूल नाराका साथ युवा मार्गचित्र २०४० (Youth Vision 2040) सम्बन्धी प्रदेशस्तरीय परामर्श तथा छलफल कार्यक्रम सोमबार जनकपुरधाममा सम्पन्न भएको छ।
नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद्को आयोजना तथा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (UNFPA) र जनसंख्या तथा विकासका लागि सांसदहरूको राष्ट्रिय मञ्च (NFPPD) को सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय युवा परिषद्का प्रमुख प्रशासकीय अधिकृत मनीता श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा युवा, श्रम तथा रोजगारमन्त्रीका प्रमुख सल्लाहकार शंकर श्रेष्ठ रहनुभएको थियो। कार्यक्रममा खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश प्रदेशका सचिव सुशील साह तेली, प्रदेश युवा सञ्जाल, मधेश प्रदेशका अध्यक्ष मो. नइम राईन, UNFPA मधेश प्रदेशका प्रमुख नगेन्द्र मिश्र तथा UNFPA का परियोजना प्रमुख अभिराम जी अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। साथै, विभिन्न मन्त्रालयका अधिकारी, युवा प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा मधेश प्रदेशको युवा जनसंख्याको अवस्था, जनसांख्यिकीय संरचना, जनसांख्यिकीय लाभांश तथा युवा शक्तिलाई राष्ट्रिय विकासमा उपयोग गर्न सकिने सम्भावनाबारे छलफल गरिएको थियो। यस क्रममा नेपालको जनसांख्यिकीय आधाररेखा प्रस्तुत गर्दै जनसंख्या वृद्धिदर, उमेरगत संरचना र युवा जनसंख्याको अवस्थाबारे जानकारी गराइएको थियो।
त्यसैगरी, ‘युवा जनसांख्यिक लाभांश तथा युवा भिजन २०२६–२०४०’ विषयमा डा. दिपेश घिमिरेले विशेष प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले प्रमाणमा आधारित नीति निर्माण, रणनीतिक प्राथमिकता निर्धारण तथा युवा जनसंख्यालाई देशको आर्थिक तथा सामाजिक विकासमा प्रभावकारी रूपमा परिचालन गर्न आवश्यक नीतिगत तयारीबारे प्रकाश पार्नुभएको थियो।
युवा मार्गचित्रका छवटा रणनीतिक स्तम्भ
कार्यक्रममा युवा मार्गचित्र २०४० अन्तर्गत प्रस्तावित छवटा रणनीतिक स्तम्भमाथि छलफल गरिएको थियो। ती स्तम्भमा रोजगारी, उद्यमशीलता तथा आर्थिक सशक्तीकरण; शिक्षा, नवप्रवर्तन, सीप तथा मानव पुँजी; युवा स्वास्थ्य तथा कल्याण; लोकतन्त्र, सुशासन, संस्थागत विकास र सहभागिता; वातावरण तथा जलवायु कार्यमा युवा; तथा सशक्तीकरण, लैङ्गिक समानता, विविधता र डिजिटल रूपान्तरण रहेका छन्।
यी विषयमार्फत युवाको क्षमता, सीप, दक्षता र नेतृत्व विकास गर्दै उनीहरूलाई आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा सशक्त बनाउने विषयमा जोड दिइएको थियो। साथै, युवालाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता र नेतृत्व विकासका अवसरसँग जोड्न आवश्यक रहेको धारणा सहभागीहरूले राखेका थिए।
लोकतन्त्र, संघीयता र नमुना युवा संसद्लाई निरन्तरता दिनुपर्नेमा जोड
कार्यक्रममा आफ्नो धारणा राख्दै प्रदेश युवा सञ्जाल, मधेश प्रदेशका अध्यक्ष मो. नइम राईनले युवा विकासलाई रोजगारी र सीपमा मात्र सीमित नराखी लोकतन्त्र, संघीयता, सुशासन र राजनीतिक चेतनासँग पनि जोड्नुपर्ने बताउनुभयो।
उहाँले वर्तमान पुस्ताका युवालाई लोकतन्त्र र संघीयताको मर्म, संवैधानिक व्यवस्था, राज्यका संरचना तथा नागरिकका अधिकार र कर्तव्यबारे जानकारी गराउन आवश्यक रहेको उल्लेख गर्नुभयो। युवा केवल रोजगारी खोज्ने जनशक्ति मात्र नभई लोकतन्त्रको संरक्षण, संघीयताको सुदृढीकरण र राज्य सञ्चालनमा सक्रिय भूमिका निर्वाह गर्ने सचेत नागरिकसमेत भएकाले उनीहरूको राजनीतिक तथा नागरिक चेतना अभिवृद्धिमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।
युवामा लोकतान्त्रिक अभ्यास, संसदीय प्रक्रिया र नेतृत्व क्षमता विकास गर्न नमुना युवा संसद् (Model Youth Parliament) जस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिँदै उहाँले यस्ता कार्यक्रम प्रदेशका सबै जिल्लासम्म विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। यसबाट युवालाई नीति निर्माण, बहस, निर्णय प्रक्रिया र नेतृत्व विकासमा सहभागी गराउन सहयोग पुग्ने उहाँले बताउनुभयो।
साथै, युवा मार्गचित्र निर्माण गर्दा मधेश प्रदेशको सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक विविधतालाई ध्यानमा राख्दै महिला, दलित, मुस्लिम तथा पछाडि पारिएका समुदायका युवाको समान पहुँच र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने उहाँको सुझाव थियो।
मधेश प्रदेशबाट सुरु, अन्य प्रदेशमा पनि परामर्श कार्यक्रम सञ्चालन गरिने
कार्यक्रमका क्रममा राष्ट्रिय युवा परिषद्ले युवा मार्गचित्र २०४० निर्माण प्रक्रियालाई देशव्यापी रूपमा अघि बढाउने उद्देश्यले प्रदेशस्तरीय परामर्श तथा छलफल कार्यक्रम मधेश प्रदेशबाट सुरु गरिएको जानकारी गराएको थियो। मधेश प्रदेशपछि क्रमशः देशका अन्य सबै प्रदेशमा समेत यस्तै प्रकृतिका कार्यक्रम आयोजना गरिने परिषद्ले जनाएको छ।
सबै प्रदेशका युवाहरू, युवा संघसंस्था तथा सरोकारवालाहरूबाट सुझाव संकलन गरी उनीहरूको आवश्यकता, समस्या, सम्भावना र प्राथमिकतालाई युवा मार्गचित्रमा समेट्ने परिषद्को उद्देश्य रहेको जानकारी गराइएको थियो।
कार्यक्रममा युवा लक्षित नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न संघ, प्रदेश र स्थानीय तहका सरकार, निजी क्षेत्र, विकास साझेदार, नागरिक समाज तथा युवाबीच समन्वय र सहकार्य आवश्यक रहेको विषयमा समेत जोड दिइएको थियो।
जनकपुरधाममा सम्पन्न यस परामर्श कार्यक्रमले मधेश प्रदेशका युवाका आवश्यकता, सम्भावना, चुनौती र प्राथमिकता पहिचान गर्दै युवा मार्गचित्र २०४० निर्माणका लागि महत्वपूर्ण सुझाव तथा आधार प्रदान गर्ने अपेक्षा गरिएको छ। प्रदेशस्तरका सरोकारवालाको सहभागिता र सुझावलाई समेटेर तयार गरिने उक्त मार्गचित्रले युवाको क्षमता र सम्भावनालाई राष्ट्रिय विकासको मूल प्रवाहमा जोड्न सहयोग पुग्ने विश्वास लिइएको छ।

















Discussion about this post