जनकपुरधाम/कार्तिक १९ गते। मधेश प्रदेशका आठवटै जिल्लाका बाल क्लब सञ्जालका पदाधिकारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाममा दुईदिने आवासीय क्षमता विकास कार्यशाला सुरु भएको छ।
बालबालिकाको लागि नागरिक समाज सबलीकरण कार्यक्रमअन्तर्गत सबल नेपाल प्रदेश कार्यालय मुजेलिया, जनकपुरधामको आयोजनामा बिहीबारदेखि उक्त कार्यशाला सुरु भएको हो। जनकपुरधाममा सुरु भएको कार्यशाला कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ।
‘बाल मेला, योजना छनोट प्रक्रिया, बालबालिका नीति तथा बाल सञ्जाल गठन, काम, कर्तव्य र अधिकारसम्बन्धी क्षमता विकास’ विषयमा केन्द्रित कार्यशालामा मधेश प्रदेशका आठवटै जिल्लाका बाल क्लब सञ्जालका पदाधिकारीहरूको सहभागिता रहेको छ।
कार्यशालामा जिल्ला स्तरीय बाल क्लब सञ्जालका ३२ जना पदाधिकारी, नागरिक समाज संस्था सञ्जाल बाल संरक्षण शाखा,अभिभावक एवं सामाजिक परिचालक ८ जनासहित करिब ४० जनाको सहभागिता रहने आयोजकले जनाएको छ। सहभागीमध्ये ५० प्रतिशत बालिकाको सहभागिता सुनिश्चित गर्ने लक्ष्यसमेत राखिएको छ।
कार्यशालाको मुख्य उद्देश्य बालबालिकालाई आफ्ना हक, अधिकार, कर्तव्य तथा स्थानीय योजना निर्माण प्रक्रियाबारे सचेत गराउँदै सक्षम र क्रियाशील बाल सञ्जाल निर्माण गर्नु रहेको छ।
कार्यशालामा बाल मेलाको उद्देश्य, महत्व र सञ्चालन प्रक्रिया, स्थानीय तहको वार्षिक योजना तर्जुमामा बालबालिकाको सहभागिता, योजना छनोटका चरण, बालबालिकासम्बन्धी नीति तथा कानुनी व्यवस्था, बालमैत्री स्थानीय शासनका सूचक, बाल अधिकारका चार आधारभूत पक्ष तथा बाल सञ्जालको गठन, काम, कर्तव्य र अधिकारबारे प्रशिक्षण दिइनेछ।
त्यसैगरी, बाल सञ्जालको विधान तथा आचारसंहिता निर्माण, बैठक व्यवस्थापन, माइन्युट तथा प्रतिवेदन लेखन, बाल संरक्षण र गुनासो सुनुवाइ संयन्त्रलगायतका विषयमा समेत सहजीकरण गरिने कार्यक्रम रहेको छ।
कार्यशालालाई प्रभावकारी बनाउन प्रस्तुतीकरण, समूहगत कार्य, मस्तिष्क मन्थन, भूमिका निर्वाह (रोल प्ले), अनुभव आदानप्रदान तथा नमुना अभ्यासजस्ता सहभागीमूलक विधि अपनाइने आयोजकले जनाएको छ।
नेपालको संविधान २०७२ को धारा ३९ ले बालबालिकाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४, बालबालिकासम्बन्धी ऐन २०७५ तथा बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०७८ ले पनि स्थानीय तहमा बालबालिकाको अर्थपूर्ण सहभागिता, बाल मेला, योजना तर्जुमा र बाल सञ्जाल गठनलाई महत्त्व दिएको छ।
तर व्यवहारमा बाल क्लब तथा बाल सञ्जालहरू योजनाबद्ध रूपमा क्रियाशील हुन नसक्ने, बाल मेला औपचारिकतामा सीमित हुने र योजना छनोट प्रक्रियामा बालबालिकाको वास्तविक माग सम्बोधन नहुने समस्या देखिएकाले यस्ता चुनौती न्यूनीकरण गर्न कार्यशाला आयोजना गरिएको आयोजकले जनाएको छ।
दुई दिनसम्म सञ्चालन हुने यस कार्यशालाले बाल क्लब सञ्जालका पदाधिकारीहरूको नेतृत्व क्षमता, योजना निर्माणमा सहभागिता तथा बाल अधिकार संरक्षणसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्दै स्थानीय तहमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

















Discussion about this post