जनकपुरधाम/कार्तिक १८ गते। मधेश प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठी जनकपुरधाममा सुरु भएको छ ।
मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको आयोजनामा जनकपुरधाममा मंगलबारदेखि सुरु भएको तीनदिने गोष्ठीको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री नगेन्द्र साहले गरेका हुन् । कार्यक्रमको अध्यक्षता स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नवलकिशोर झाले गरेका छन् ।
गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री साहले मधेश प्रदेशको स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन् । स्वास्थ्य क्षेत्रमा रहेका कमी–कमजोरी पहिचान गरी सुधार गर्दै नागरिकलाई सहज, सुलभ र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए ।
स्वास्थ्य सेवामा देखिएका कमजोरी लुकाउनुको सट्टा स्वीकार गरी सुधारका उपाय खोज्नुपर्ने उल्लेख गर्दै मन्त्री साहले विगतका अनुभवबाट पाठ सिकेर सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सबै सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्ने बताए ।
उनले एक्काइसौँ शताब्दीमा स्वास्थ्य क्षेत्रको योजना निर्माण तथा कार्यान्वयनका लागि तथ्यांकमा आधारित प्रणाली अपरिहार्य रहेको उल्लेख गरे । सही, विश्वसनीय र अद्यावधिक तथ्यांकका आधारमा स्वास्थ्य सेवाको आवश्यकता पहिचान, स्रोतसाधनको परिचालन तथा कार्यक्रमको प्राथमिकता निर्धारण गर्नुपर्ने उनको भनाइ थियो ।
मन्त्री साहले वार्षिक समीक्षा गोष्ठीलाई प्रगति विवरण प्रस्तुत गर्ने औपचारिकतामा मात्र सीमित नराखी कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या, चुनौती र कमजोरी पहिचान गरी समाधानका व्यावहारिक उपाय तय गर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गरे ।
कार्यक्रममा विशेष अतिथिका रूपमा प्रदेशसभा सदस्य तथा महिला, बालबालिका तथा सामाजिक न्याय समितिकी सभापति रूपा कुमारी यादव र प्रदेश नीति तथा योजना आयोगका प्रतिनिधिको सहभागिता रहेको थियो ।
त्यस्तै, विशिष्ट अतिथिका रूपमा जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डल तथा अतिथिका रूपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादव र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार तथा प्रधानाध्यापक डा. विनोदकुमार यादव उपस्थित थिए ।
कार्तिक १७ देखि १९ गतेसम्म सञ्चालन हुने गोष्ठीमा प्रदेशभित्र गत आर्थिक वर्षमा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धि, बजेट तथा स्रोतसाधनको उपयोग र सेवा प्रवाहको अवस्थाबारे विस्तृत समीक्षा गरिनेछ ।
साथै, कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौती पहिचान गरी आगामी दिनमा स्वास्थ्य सेवालाई थप व्यवस्थित, गुणस्तरीय, जवाफदेही र परिणाममुखी बनाउने विषयमा छलफल हुनेछ ।
गोष्ठीबाट प्राप्त निष्कर्ष तथा सुझावले मधेश प्रदेशको स्वास्थ्य सेवा प्रणालीमा सुधार ल्याउनुका साथै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने आगामी कार्ययोजना निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

















Discussion about this post