जनकपुरधाम/कार्तिक १८ गते । दीपावली, छठ तथा सामाचकेवा पर्वको अवसर पारेर जनकपुरधाम घरजग्गा व्यवसायी संघ धनुषाले शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ। जनकपुरधाममा आयोजित कार्यक्रममा घरजग्गा व्यवसायी, सरकारी निकायका प्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
संघका अध्यक्ष विजय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दीपावली, छठ तथा सामाचकेवा पर्वको सांस्कृतिक, धार्मिक एवं सामाजिक महत्वबारे चर्चा गर्दै आपसी सद्भाव, भाइचारा र एकतालाई थप मजबुत बनाउनुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष विजय यादवले चाडपर्व केवल धार्मिक तथा सांस्कृतिक उत्सव मात्र नभई समाजका विभिन्न वर्ग र समुदायबीच आत्मीयता तथा सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण अवसर भएको बताए।
अध्यक्ष यादवले भने, “दीपावली, छठ र सामाचकेवा हाम्रो समाजका महत्वपूर्ण सांस्कृतिक पर्व हुन्। यस्ता पर्वले आपसी सद्भाव, एकता र भाइचाराको भावना विकास गर्छन्। घरजग्गा व्यवसायीहरूबीच एकता कायम गर्दै व्यवसायलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन पनि संघ निरन्तर क्रियाशील रहनेछ।”**
कार्यक्रममा जनकपुरधाम घरजग्गा व्यवसायी संघका संस्थापक अध्यक्ष रञ्जित पजियार, राष्ट्रिय स्वतन्त्र पार्टीका मधेश प्रदेश र्यापिड एक्सन टिम विभाग प्रमुख अम्बु प्रसाद साह लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा संघका कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको समेत सहभागिता रहेको थियो।
शुभकामना आदान–प्रदानसँगै आयोजित कार्यक्रमले घरजग्गा व्यवसायीहरूबीच आपसी सम्बन्ध विस्तार गर्नुका साथै व्यवसाय क्षेत्रका समस्या, चुनौती र समाधानका विषयमा सम्बन्धित निकायसँग समन्वय तथा सहकार्य बढाउन सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

















Discussion about this post