जनकपुरधाम/कार्तिक १४ गते। बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनको विषयलाई लिएर भएको विवादका क्रममा प्रहरीले गोली चलाउँदा स्थानीय एक युवा घाइते भएपछि प्रदेश युवा सञ्जाल, मधेश प्रदेशका अध्यक्ष तथा जेन–जी अभियन्ता मो. नइम राईनले कडा आपत्ति जनाएका छन्।
राईनले शान्ति र सुरक्षाको नाममा मधेशका युवामाथि पटक–पटक गोली चलाउने प्रवृत्तिप्रति प्रश्न उठाउँदै आखिर मधेशका युवाहरूले कहिलेसम्म गोली खानुपर्ने भन्दै आक्रोश व्यक्त गरेका छन्।
उनले विगतका घटनाहरूबाट पाठ सिक्नुको सट्टा फेरि पनि युवामाथि गोली चलाइनु गम्भीर चिन्ताको विषय भएको बताएका छन्। विभिन्न बहानामा युवामाथि बल प्रयोग गर्ने र गोली चलाउने कार्य तत्काल बन्द गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै उनले विवाद समाधानको माध्यम गोली नभई संवाद, सहमति र समझदारी हुनुपर्नेमा जोड दिएका छन्।
“विभिन्न बहानामा युवामाथि गोली चलाउने कार्य कहिलेसम्म जारी रहने? विवादको समाधान संवाद र सहमतिबाट खोजिनुपर्छ, गोलीबाट होइन,” राईनले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले युवामाथि गोली प्रहार गर्ने कार्य तत्काल बन्द गर्न र यस्ता घटनाको जवाफदेहिता सुनिश्चित गर्न माग गरेका छन्।

















Discussion about this post