फागुन ७ गते। आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । गणतन्त्र स्थापनापछि केही समय ओझेलमा परेको यो दिवसलाई यस वर्ष सरकारले थप महत्वका साथ विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । दिवसको अवसरमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखसहितको सहभागिता रहनेछ । सो क्रममा सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अङ्कित ब्यानर चक्रपथ वरपर प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुँडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झन्डा प्रदर्शन गर्ने कार्यक्रम समेत छ ।
२००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो।फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ साल वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ । तर गणतन्त्र स्थापनापछि भने प्रजातन्त्र दिवस ओझेलमा परेको थियो ।
सरकारले यही वर्षबाट प्रजातन्त्र दिवसलाई थप महत्वका साथ मनाउने निर्णय गरेको हो । संघमा प्रधानमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ भने प्रदेशमा मुख्यमन्त्री, जिल्लामा जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय तहमा सम्बन्धित स्थानीय तहका प्रमुखहरूको संयोजकत्वमा दिवस विशेष कार्यक्रम आयोजक समिति गठन गरी दिवस मनाइदैछ । सरकारले घरघरमा दीपावली बाल्न र राष्ट्रिय झन्डा झुकाउन समेत आह्वान गरेको छ ।

















Discussion about this post