सप्तरी/माघ १९ गते। सप्तरीमा हतियार र जंगली जनावरको मासुसहित एक जना पक्राउ परेका छन् ।
अनुमति प्राप्त हतियार र गोली, ३५ किलो मासुसहित पक्राउ परेका राजविराज-५ का शैलेशकुमार झालाई प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको हो ।
सप्तरी प्रहरीका अनुसार झालाई शुक्रबार बिहानको समयमा हनुमाननगर कंकालिनी नगरपालिका-७ बैष्णौदेवी मन्दिर नजिक कोशी नदीको बाधबाट ढाडमा हतियार भिरेको अवस्थामा दुईवटा बोरामा मासुसहित नियन्त्रणमा लिइएको हो । उनको साथबाट २२ बोरको मेगनम राइफल एकवटा, ४१ राउण्ड गोली, २ थान म्यागजिन, एउटा गन स्टेन, क्यामेरा एकवटा, लाइट र पाबर बैंक लगायतका सामानहरु समेत बरामद भएको छ ।
स्रोतका अनुसार हतियारसहित सिकारी गर्नेमा झामात्रै थिएनन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढा पलारमा सिकारीको एक समूहले दुईवटा मृग मारेको स्रोतको दाबी छ । स्रोतका अनुसार मारिएको दुई वटा मृगमध्ये एउटा गोबरगाढा पलारमै स्थानीयहरुले राखेको र अर्को मृगको मासु लिएर झा सहितको समूह ट्र्याक्टरमा आउँदै गरेको अवस्थाबाट पाँच जनासहित पक्राउ परेका थिए । तर प्रहरीले झा बाहेकका चार जना र ट्रयाक्टरलाई छाडिदिएको स्थानीयले बताए ।
झालाई थप अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्याल्य सप्तरीमा बुझाइएको छ । जिल्ला प्रहरी कार्यालयका एसपी गजुसिद्धी बज्राचार्यले प्रहरी टोलीले झालाई मात्र पक्राउ गरेको र थप अनुसन्धान हुने दाबी गरे ।

















Discussion about this post