पुस २४ गते। सिरहामा एक जना मिटरब्याज पीडितमाथि दुर्व्यवहारसँगै खुकुरी प्रहारको प्रयास भएको छ । कल्याणपुर नगरपालिका–८ अरङका मिटरब्याज पीडित सञ्जयकुमार कामतीमाथि खुकुरी प्रहारको प्रयास भएको हो।
मिटरब्याज पीडित भनिएका सञ्जयकुमार कामतीमाथि खुकुरी प्रहारको प्रयास गरेको आरोपका इलाका प्रहरी कार्यालय मिर्चैयाले कल्याणपुर नगरपालिका ८ अरङका रामनारायण सिंहलाई नियन्त्रणमा लिएको हो।
मिटरब्याजीले कब्जा गरेर अरूलाई बेचिसकेको घरमा सोमबार दिउँसो ३ बजे सञ्जयकुमार पस्न खोजेपछि स्थानीय रामनारायण सिंह, उनका छोरा शैलेन्द्र र भाइ नितेश सिंहले कुटपिट गरी खुकुरी प्रहारको प्रयास गरेको पीडित पक्षको भनाइ छ।
पीडितका अनुसार वाड नं. ८ मझाउन टोलका मिटरब्याजी सुरेश पजियारले १ विघा एक कठ्ठा खेत र डेढ कठ्ठाको घरघडेरी जिल्ला अदालतबाट डाक गराएर आफ्नो नाममा ल्याए । त्यसबाट १० कठ्ठा खेत र घरघडेरी सञ्जयकै छिमेकी रामनारायणको हातबाट बिक्री भएको छ । जसका कारण सञ्जयसहित उनका आमा–बुबासहित परिवारका सदस्य विस्थापित भएका छन् । हाल जनकपुरमा डेरा लिएर बसेर कन्सट्रक्सनको काम गरिरहेको सञ्जयले बताए ।
सोमबार आफ्नो घरमा जान खोज्दा रामनारायणसहित उनका छोरा र भाइले कुटपिट गर्दै खुकुरी प्रहारको प्रयास गरेको सञ्जयले बताए । सञ्जयमाथि हातपात गर्दै खुकुरी उज्याएको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ।
फोटो र भिडियोहरुमा अन्य व्यक्तिलाई खुकुरी उज्याएको देखिएपछि प्रहरीले सिंहलाई घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र वस्नेतले जानकारी दिए। उनले पीडितले अहिलेसम्म उजुरी नदिएपनि सिंहलाई नियन्त्रणमा लिएको बताए। उनले भने, ‘अहिले सम्म पीडितले उजुरी दिएको छैन, सिंहले व्यक्तिमाथि खुकुरी उज्याएको फोटो र भिडयोको आधारमा नियन्त्रणमा लिएका हौं। पीडितले उजुरी दिएपछि थप कानुनी प्रकृया अगाडी बढ्छ।’
कल्याणपुर नगरपालिका ८ मझौराका मिटरब्याजी सुरेश पञ्जियारले कब्जा गरी रामनारायण सिंहसँग बेचिसकेको घरमा सोमबार दिउँसो सञ्जय पस्न खोजेपछि उनीमाथि कुटपिटसँगै खुकुरी प्रहारको प्रयास भएको थियो।

















Discussion about this post