जनकपुरधाम/कार्तिक १२ गते। जनकपुरको धान खेतमा मृत भेटिएका युवकको हत्या लागूऔषध सेवान र मोबाइलको सामान्य विवादको कारण भएको खुलेको छ ।
धनुषाकाे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ सोनापाडाका रुपेश महरा चमारको हत्या आराेपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले हत्या आराेपमा जनकपुरधाम-२४ काे बसहियाका पवन सहनी र मुसहरी टोलका हरिचन मण्डललाई पक्राउ गरेकाे हाे । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।
कार्तिक १० गते इस्कन मन्दिर नजिक धान खेतमा महराको शव भेटिएको थियो । प्रहरीले हत्यामा उनकै साथीहरु सहनी र मण्डलको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे जानकारी दिएकाे छ ।
तीनैजना लागूऔषध सेवन गरेपछि मोबाइलको विषयमा भएको समान्य विवादको कारण बाँसको भाटा प्रहार गरि दुवैजना साथी मिलेर प्रहार गरि धान खेतमा फालेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । बाँसको भाटा प्रहार गरेर घाइते अवस्थामा छाडेर गएपछि रुपेशको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।
उनीहरु बुधबार टेम्पो चढ़ी जटही हुदै भारतको पारी बजारमा गई लागु औषध नाईट्राभेट ट्यावलेट खरिद गरी मिरिन्डा पे-पदार्थमा मिसाई सेवन गरेका थिए ।
पुनः जनकपुर आई सोही राति साढे ९ बजे जनकपुरधाम उप-महानगरपालिका वडा नं. २३ स्थित बाटोमा मोवाईल सेटको बिषयमा वाद-विवाद हुँदा हरिचन मण्डलले बासको गोलो भाटाले मृतक रुपेशको टाउको लगायत पिठ्युको भागमा प्रहार गरी फालेको प्रहरीले जनाएको छ । पवन सहनीले निज हरिचन मण्डललाई सहयोग गरेको खुलेको छ । दुबैजनामाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप अनुसन्धान गरिरहेको एसपी खड्काले बताए ।
घटनाको क्रममा मृतकले प्रयोग गरेकाे साइकल, मोबाइल सेट, घटनामा संलग्न रहेका हरिचनले लगाएकाे टिसर्ट, बाँसको भाटा, पवन सहनीको मोबाइल जिल्ला प्रहरी कार्यालय धनुषाले बरामद गरेको छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा लगाइ थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

















Discussion about this post