सिरहा/असोज २३ गते। सिरहाको मिर्चैयामा गोदाममा छापा मार्न गएका राजस्व अनुसन्धान कार्यालय इटहरीका कर्मचारीहरुको टोली स्थानीय व्यवसायीहरुद्वारा लखेटिएका छन् । अनाहकमा दुःख दिएको भन्दै कर्मचारीहरुमाथि स्थानीय व्यवसायीले ढुंगामुढा पनि प्रहार गरेका हुन्।
स्थिति नियन्त्रणमा लिएर प्रहरीले सुरक्षा दिँदै टोलीलाई मिर्चैयाबाट पठाएको छ । राजस्व अनुसन्धान कार्यालयको टोलीले गरिरहेको अनुसन्धानको विरोध गर्दै स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्गमा सिरहा-मिर्चैया खण्ड मंगलबार दिउँसो करिब एक घण्टा आवागमन अवरुद्ध गरेका छन् ।
असोज ४ मा टोलीले मिर्चैया-५ संस्था चौकस्थित मुरारी साहको पसलमा छापा मार्दै बहीखाता, बिल भौचर सहितका कागजपत्र नियन्त्रणमा लिएको थियो । अनुसन्धानमा साहको पसलको स्टोरमा भ्याट बिलभन्दा बाहेकका सामान पनि फेला परेको थियो । उक्त सामान नियन्त्रणमा लिनका लागि टोली मंगलबार आएको थियो ।
राजस्व अनुसन्धान टोलीले साहको पसलबाट सामान नियन्त्रणमा लिएपछि व्यापारी र स्थानीय बासिन्दाले हातपातको प्रयास गरेका थिए । टोलीलाई सुरक्षा दिएर मिर्चैयाबाट पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रवीन्द्रराज पाण्डेले बताए ।
राजस्व अनुसन्धान टोलीले पटक-पटक एउटै व्यापारीको पसलमा अनुसन्धानको नाममा दु:ख दिएको भन्दै स्थानीयले पूर्वपश्चिम राजमार्गको मिर्चैया खण्डमा टायर बालेर विरोध गरेका थिए । सम्झाइबुझाइ राजमार्गमा आवागमन सहज बनाइएको डीएसपी पाण्डेले बताए ।

















Discussion about this post