जनकपुरधाम/असोज २२ गते । इजरायलमा शनिवार भएको आतंककारी हमलामा परी १० जना नेपाली नागरिकको निधन भएको छ । त्यसमध्येका एक जना धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ४ सपहीका २२ वर्षीय आनन्द साह रहेका छ्न।

धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ४ सपही बस्ने सोमन साहका २२ वर्षीय छोरा आनन्द साहको आतंकी हमलामा मृत्यू भएको इजरायलका लागि नेपाली राजदूत कान्ता रेग्मीले पुष्टि गरेकी छन् ।
आनन्द परिवारको एक्लो छोरा हुन् । उनका तीन दिदीबहिनी छन् । ‘गत भदौ २६ गतेमात्र उनी कृषिसम्बन्धी तालिम लिनका लागि गएका थिए,’ वडाध्यक्ष साहले थपे,’कृषिसम्बन्धी तालिम लिन उनीसँगै नेपालका अरू २५ जना विद्यार्थीहरू गएका थिए ।’ जनकपुरको एन्जलस बोर्डिङ स्कुलबाट एसईई र मिट क्याम्पसबाट आईएससी उत्तीर्ण गरेका आनन्द त्यसपछि इजरायल पुगेका थिए ।
आनन्दको मृत्यु भएको खबर आइतबार दिउँसो ४ बजे गाउँमा फैलिएको वडाध्यक्ष रमेश कुमार साहले बताए । ‘इजरायलमा हमला भएको दिन शनिवार नै आनन्दका दिदीले फोन गरेकी थिइन् । तर, फोन बजे पनि उठेको थिएन । आज आइतबार पनि उनको फोनमा रिङ जान्छ तर फोन उठेको छैन,’ वडाध्यक्ष साहले लोकान्तरसँग भने,’सरकारले अहिलेसम्म उनी मारिएकोबारे परिवारका सदस्यलाई कुनै जानकारी गराएको छैन । तर, आनन्दकी बहिनीहरूले इजरायलका केही मानिससँग कुरा गर्दा आनन्दको निधन भएको कुरा आएको छ ।’
घर परिवारका कुनै पनि सदस्य अहिले बोल्ने अवस्थामा छैनन् । पढेर र इजरायलबाट तालिम लिएर आएपछि गाउँमै केही गर्छ भन्ने सपना बुबाले बोकेका सपना चकनाचुर भएको छ । सपनासँगै आनन्द पनि बिलाएपछि बज्रपात परेको छ ।
आमा, बुबा सबै आनन्दको घटनाबारे सुनेर मुर्छित भएका छन् । अहिले सिंगो गाउँ नै शोकमा डुबेको छ । दुई दिन अगाडी उनकी बहिनीले आनन्दसँग कुराकानी गरेपनि उनको बुवाआमासँग भने कुराकानी हुन सकेको थिएनन् । उनको बहिनीको त्यो अन्तिम कल थियो ।
परिवारको एक्लो छोराको विदेसिएको २६ दिनपछि निधन भएको खबरसँगै परिवारमा वज्रपात भएको छ ।

















Discussion about this post