जनकपुरधाम, असोज ५ गते । लायन्स क्लब अफ जनकपुरधामले आफ्नो स्वर्ण जयन्ती समारोहको अवसरमा मैथिली विकास कोषसँगको सहकार्यमा सुविधासम्पन्न ई–लाईब्रेरी अर्थात् डिजिटल पुस्तकालय स्थापना गर्ने भएको छ।
ई–लाईब्रेरी स्थापनाका लागि सोमबार लायन्स क्लब अफ जनकपुरधामका अध्यक्ष प्रसून मिश्र र मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीबीच औपचारिक सम्झौता भएको हो।
सम्झौता कार्यक्रममा लायन्स क्लब अफ जनकपुरधामका पदाधिकारीहरू हरि राउत, विद्याकर साह, निर्मल सिंघानिया, दीपेन्द्र सिंह र लक्ष्मी नारायण साहको उपस्थिति थियो। त्यस्तै, ई–लायब्रेरी सफ्टवेयर डेभलपर विदेह सिस्टम्स प्रा.लि.का वात्स्यायन, मैथिली विकास कोषका सदस्य–सचिव श्यामसुन्दर शशी तथा कोषका मिडिया प्रभारी शिवम पाण्डेलगायतको सहभागिता रहेको थियो।
ई–लाईब्रेरीले डिजिटल प्रविधिको माध्यमबाट पुस्तक तथा विभिन्न ज्ञानमूलक सामग्रीमा सहज पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ। यसबाट विद्यार्थी, अनुसन्धानकर्ता, साहित्यप्रेमी तथा सर्वसाधारणलाई अध्ययन र अनुसन्धानका लागि सहयोग पुग्ने विश्वास लिइएको छ।
लायन्स क्लब अफ जनकपुरधामका संस्थापक अध्यक्ष डा. जयबल्लभ दास हुन्। क्लबको नेतृत्व गर्दै डा. रामकेवल साह, डा. विजयकुमार सिंह, प्रा. रामकुमार यादव, रामबाबु गुप्ता, कौशल किशोर सर्राफलगायतका व्यक्तित्वहरूले संस्थाको विकास तथा सामाजिक सेवामा महत्वपूर्ण योगदान पुर्याएका छन्।
क्लब र मैथिली विकास कोषबीचको सहकार्यले ज्ञान, प्रविधि र पठन संस्कृतिको विकाससँगै मैथिली भाषा, साहित्य तथा संस्कृतिसँग सम्बन्धित सामग्रीको संरक्षण र प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
ई–लाईब्रेरी स्थापना गर्ने यो पहललाई ज्ञान र संस्कृतिको संरक्षण तथा डिजिटल पहुँच विस्तारतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।















Discussion about this post