रौतहट/असोज ५ गते। गत आर्थिक वर्षको वित्तीय हिसाब मिलान हुन नसक्दा रौतहटका १२ स्थानीय तहको खाता सञ्चालन र चालु आर्थिक वर्षको पहिलो किस्ता निकासा प्रभावित भएको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) का अनुसार स्रोतगत खर्चको विवरण नमिलेको, खर्च हुन नसकेको रकम फिर्ता नभएको तथा पुरानो वित्तीय विवरण मिलान बाँकी रहेकाले निकासा प्रक्रिया रोकिएको हो।
जिल्लाका १८ स्थानीय तहमध्ये गौर, देवाही गोनाही, कटहरिया, बौधिमाई, गुजरा र वृन्दावनको हिसाब मिलान भइसकेको जनाइएको छ।
खाता सञ्चालनमा समस्या आएपछि कर्मचारीको तलब, निर्माण व्यवसायी तथा सेवा प्रदायकको भुक्तानीसमेत प्रभावित हुन सक्ने अवस्था छ। दसैँ–तिहारको मुखमा देखिएको यो समस्याले स्थानीय तहको नियमित सेवा प्रवाहमा समेत असर पार्ने चिन्ता बढाएको छ।
यसबीच गढीमाई नगरपालिकामा करिब चार करोड र गरुडा नगरपालिकामा करिब छ करोड रुपैयाँ सशर्त अनुदान खर्च नभई बाँकी रहेको स्रोतको दाबी छ। खर्च नभएको सशर्त अनुदान फिर्ता गर्नुपर्ने व्यवस्था भए पनि उक्त रकमको वास्तविक अवस्था र व्यवस्थापनबारे सम्बन्धित पालिकाबाट स्पष्ट विवरण सार्वजनिक भएको छैन।
गरुडाका लेखापाल कुमार ठाकुरको सरुवाको विषय पनि यही समयमा चर्चामा आएको छ। तर सरुवा र वित्तीय हिसाबबीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि भइसकेको छैन।
अब सम्बन्धित पालिकाले प्राप्त अनुदान, भएको खर्च, बाँकी रकम र फिर्ता गरिएको रकमको स्रोतगत विवरण सार्वजनिक गरेपछि मात्रै वित्तीय विवादको वास्तविक अवस्था स्पष्ट हुने देखिन्छ।















Discussion about this post