जनकपुरधाम/असोज २ गते । दलित महिला संघ धनुषाको आयोजनामा सरकारको योजना,कानुन र नीतिमा दलित महिलाका सवाल विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ।
शुक्रबार जनकपुरधामस्थित मसाला कटेजमा आयोजित कार्यक्रममा खेलकुद तथा सामाजिक कल्याणमन्त्री लखन दासको प्रमुख आतिथ्यता तथा दलित विकास समितिका उपाध्यक्ष जितेन्द्र पासवानको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा खेलकुद तथा सामाजिक कल्याणमन्त्री लखन दासले “दलित समुदायको अवस्था सुधार गर्न कानुन मात्र बनाएर पुग्दैन, त्यसको प्रभावकारी कार्यान्वयन पनि आवश्यक रहेको बताएका छ्न। उनले विशेषगरी मधेशका दलित महिलाले भोग्दै आएका सामाजिक, आर्थिक, शैक्षिक र राजनीतिक समस्यालाई राज्यले छुट्टै प्राथमिकताका साथ सम्बोधन गर्नुपर्छ। प्रस्तावित विधेयकमा मधेशी दलित समुदायका वास्तविक सवाल र आवश्यकतालाई समेट्न आज प्राप्त सुझाव महत्वपूर्ण हुनेछन्।” उनले बताए।
कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणमा मधेश प्रदेश सरकारका नीति, योजना तथा कानुनमा दलित महिलाका सवाल सम्बोधन गर्न हाल रहेका प्रावधान, व्यवस्था तथा अपनाउनुपर्ने उपायका विषयमा छलफल गरिएको थियो। दलित महिलाको सामाजिक, आर्थिक, शैक्षिक तथा राजनीतिक अधिकार सुनिश्चित गर्न राज्यका नीति तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने विषयमा सहभागीहरूले धारणा राखेका थिए।
त्यस्तै, दोस्रो चरणमा नेपाल सरकारले दलित समुदायको आर्थिक, शैक्षिक तथा सामाजिक विकाससँगै राज्यका हरेक क्षेत्रमा पहुँच र अधिकार सुनिश्चित गर्ने उद्देश्यले निर्माण गर्न लागेको विधेयकमाथि व्यापक छलफल गरिएको थियो।
छलफलका क्रममा प्रस्तावित विधेयकमा मधेशी दलित समुदायका विशेष सवाल, आवश्यकता र मागहरूलाई कसरी समावेश गर्न सकिन्छ भन्ने विषयमा सहभागीहरूबाट सुझाव संकलन गरिएको थियो। सहभागीहरूले दलित समुदायको वास्तविक अवस्था र आवश्यकतालाई सम्बोधन गर्ने गरी विधेयकलाई समावेशी र अधिकारमुखी बनाउनुपर्नेमा जोड दिएका थिए।
अन्तरक्रियामा दलित समुदायका अगुवा, राजनीतिकर्मी, पत्रकार, नागरिक समाजका अगुवा तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमले दलित महिलाका सवाललाई प्रदेश सरकारका नीति, योजना तथा कानुनी व्यवस्थामा प्रभावकारी रूपमा समेट्न आवश्यक सुझाव र धारणा संकलन गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।















Discussion about this post