जनकपुरधाम/असोज २ गते । जनकपुरधाम उपमहानगरपालिकाभित्र बालबालिकामा कुपोषणको समस्या बढ्दै गएको पाइएको छ। उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार पालिकाभित्र मात्रै १५४ जना बालबालिका गम्भीर प्रकृतिको कुपोषणबाट प्रभावित रहेका छन्।
जनकपुरधाममा बिहीबार सामुदायिक सूचना नेटवर्कले आयोजना गरेको पोषण संवाद कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी, अधिकारकर्मी तथा सरोकारवालाले कुपोषण न्यूनीकरणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रतिनिधि सुबोधकुमार यादवले उपमहानगरपालिकामा गम्भीर प्रकृतिको कुपोषणको समस्या रहेको जानकारी दिए। पालिकाभित्र १५४ जना बालबालिका कुपोषित रहेको उल्लेख गर्दै उनले यसको रोकथाम तथा न्यूनीकरणका लागि लक्षित कार्यक्रम थप प्रभावकारी बनाउनुपर्ने बताए।
स्वास्थ्य कार्यालय धनुषाका प्रतिनिधि मधेश साहले धनुषा जिल्लामै कुपोषणको समस्या बढिरहेको बताए। पोषणसम्बन्धी कार्यक्रमका लागि पर्याप्त बजेट तथा स्रोतको व्यवस्था हुन नसक्दा समस्या न्यूनीकरणमा चुनौती देखिएको उनको भनाइ थियो। उनका अनुसार जनकपुरधामसहित जिल्लाभर आमा तथा बालबालिकामा कुपोषणको अवस्था चिन्ताजनक बन्दै गएको छ।
कार्यक्रममा अधिकारकर्मी जमुना भुजेलले बालबालिका तथा महिलालाई लक्षित गरी पोषणसम्बन्धी सचेतनामूलक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताइन्। गर्भवती आमादेखि बालबालिकासम्मलाई सरकारले उपलब्ध गराउँदै आएको सेवा–सुविधा प्रभावकारी रूपमा उपलब्ध गराउनुपर्नेमा उनले जोड दिइन्।
महिला अधिकारकर्मी तथा शिक्षिका दीपिका कार्कीले विद्यालयमा सञ्चालन हुने दिवा खाजालगायत बालबालिका लक्षित कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताइन्। यस्ता कार्यक्रम स्रोतको अभावमा रोकिन नहुने भन्दै उनले विद्यालयमा उपलब्ध गराइने खानाको गुणस्तरको नियमित अनुगमन आवश्यक रहेको बताइन्।
कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका प्रतिनिधिहरूले कुपोषण न्यूनीकरणका लागि सामाजिक, सांस्कृतिक तथा आर्थिक पक्षबाट समेत संयुक्त पहल आवश्यक रहेको धारणा राखेका थिए।
अन्तरधार्मिक सञ्जालका शुभकान्त झाले सन्तुलित तथा पोषिलो खानालाई प्राथमिकता दिनुपर्ने बताए। उनले स्वस्थ जीवनका लागि पोषणयुक्त खानाको महत्त्वबारे समुदायस्तरमै जनचेतना फैलाउनुपर्नेमा जोड दिए।
कृषि कार्यालयका कार्यालय प्रमुख उमेशकुमार यादवले कृषि उत्पादनमा अत्यधिक विषादीको प्रयोग नियन्त्रण गर्नुपर्ने बताए। गर्भवती महिला तथा बालबालिकाका लागि पोषिलो खाना आवश्यक हुने भएकाले तरकारी तथा अन्य कृषि उत्पादनमा हानिकारक विषादीको प्रयोग नगर्न आग्रह गरे। बजारमा सहजै उपलब्ध हुने तयारी तथा जंक फुडले बालबालिकाको पोषण आवश्यकता पूरा गर्न नसक्ने उनको भनाइ थियो।
अभिभावकले पनि तत्काल उपलब्ध हुने अस्वस्थकर खानालाई निरुत्साहित गर्दै बालबालिकालाई पोषणयुक्त तथा सन्तुलित खाना खुवाउन ध्यान दिनुपर्ने कार्यक्रममा सहभागीहरूले बताए। साथै स्थानीय तथा रैथाने खानाको प्रवर्द्धन गर्नुपर्नेमा समेत जोड दिइएको थियो।
कार्यक्रममा बालबालिकाको पोषण अवस्था सुधारका लागि स्थानीय तह, स्वास्थ्य संस्था, विद्यालय, अभिभावक तथा समुदायबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघका कार्यकारी प्रमुख शिरोमणि ढुंगानाले कार्यक्रममाथि प्रकाश पारेका थिए भने अकोराबका प्रतिनिधि नितेश मिश्रले स्वागत मन्तव्य व्यक्त गरेका थिए।















Discussion about this post