महोत्तरी/असोज १ गते। बलबा नगरपालिकाले पालिकाभित्र उपचाररत दलित, असहाय तथा अशक्त क्षयरोगका बिरामीलाई लक्षित गरी पोषण आहार वितरण गरेको छ।
बलबा नगरपालिका र बीएनएमटी नेपाल (BNMT Nepal) को सहकार्यमा नगरपालिकाभित्र उपचाररत १५ जना क्षयरोगका बिरामीलाई पोषण आहार वितरण गरिएको हो। उपचारका क्रममा बिरामीलाई आवश्यक पोषण उपलब्ध गराई स्वास्थ्य अवस्थामा सुधार ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
वितरण गरिएको पोषण आहारको प्याकेजमा २५ किलोग्राम मन्सुली चामल, एक किलोग्राम रहरको दाल, एक लिटर सोयाबिन तेल, एक किलोग्राम पिठो र १.५ किलोग्राम चना समावेश गरिएको छ। यस्तै, शाकाहारी बिरामीका लागि एक किलोग्राम सोयाबिन तथा मांसाहारी बिरामीका लागि एक क्यारेट अण्डा उपलब्ध गराइएको छ।
कार्यक्रममा क्षयरोगका लक्षण, कारण, रोकथाम तथा उपचारका विषयमा समेत जानकारी गराइएको थियो। बलबा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामकुमार माझी र बीएनएमटी नेपालका प्रादेशिक कार्यक्रम संयोजक डा. मनोजकुमार साहले संयुक्त रूपमा क्षयरोगसम्बन्धी सचेतनामूलक तथा जानकारीमूलक सन्देश दिएका थिए।
क्षयरोगका बिरामीलाई उपचार अवधिभर आवश्यक पोषणमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको उक्त पोषण आहार वितरण कार्यक्रम छ महिनासम्म निरन्तर सञ्चालन हुने जनाइएको छ।
नगर प्रमुख रामविजय महतोले पोषणयुक्त आहारले क्षयरोगका बिरामीको स्वास्थ्यमा सुधार ल्याउनुका साथै नियमित उपचारलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरे।















Discussion about this post