१ असोज। सुन्दा जो कोहीलाई पनि आश्चर्य लाग्ने यो घटना छिमेकी मुलुक भारतको बिहारस्थित पूर्णिया जिल्लाको हो। अन्तर्जातीय विवाह गरेको भन्दै पूर्णियाका एक बाबुले आफ्नै जीवित छोरीको पुतला बनाएर दाहसंस्कार गरेका छन्।
पूर्णियाको चपय गाउँका किसान मनोज गोस्वामीले छोरी रियाको पुतला बनाएर गाउँलेको उपस्थितिमा शवयात्रा निकालेका हुन्। त्यसपछि हिन्दू परम्पराअनुसार श्मशानमा पुतलालाई मुखाग्नि दिइएको बताइएको छ।
बीए पहिलो वर्षमा अध्ययनरत रिया गत सेप्टेम्बर ८ मा आफूभन्दा फरक जातका एक युवकसँग घरबाट हिँडेकी थिइन्। छोरी सम्पर्कविहीन भएपछि उनका बाबुले अपहरणको उजुरी दिएका थिए। प्रहरीले खोजी गर्ने क्रममा उनलाई दिल्लीबाट फेला पारेको बताइएको छ।
त्यसपछि अदालतमा बयान दिने क्रममा रियाले परिवारको पक्षमा नभई आफूले रोजेको युवकको पक्षमा बयान दिएको बताइएको छ।
छोरीले आफ्नो इच्छाअनुसार विवाह गरेको विषयलाई बाबुले स्वीकार गर्न नसकेपछि उनले छोरीसँगको सम्बन्ध नै अन्त्य गरेको बताएका छन्। त्यसपछि परिवारले छोरीको मृत्यु भएको प्रतीकात्मक घोषणा गर्दै उनको पुतला बनाएर बुधवार अन्तिम संस्कार गरेको हो। परिवारले अब छोरीको श्राद्धसमेत गर्ने तयारी गरेको बताइएको छ।
प्रेम, अधिकार र सामाजिक प्रतिष्ठाबीचको द्वन्द्व
घटनाले अन्तरजातीय विवाह, पारिवारिक अपेक्षा र सामाजिक प्रतिष्ठाबीचको गहिरो द्वन्द्वलाई सतहमा ल्याएको छ। एकातिर वयस्क व्यक्तिले आफ्नो जीवनसाथी रोज्ने व्यक्तिगत अधिकारको प्रश्न छ भने अर्कोतर्फ अभिभावकले सन्तानको भविष्य र सामाजिक सम्बन्धलाई लिएर राखेका अपेक्षा छन्।
छोरीले आफ्नो जीवनसाथी रोजेकै कारण जीवित व्यक्तिलाई मृत घोषणा गरी पुतलाको अन्तिम संस्कार गर्नु परिवारभित्रको भावनात्मक दूरी मात्र नभई सामाजिक दबाब कति गहिरो हुन सक्छ भन्ने उदाहरणका रूपमा समेत देखिएको छ।















Discussion about this post