काठमाडौं/भदौ ३० गते। जनता समाजवादी पार्टी (जसपा) नेपालले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा एक्काइस लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार सहयोग रकम हस्तान्तरण गरिएको महासचिव डा. सुरेन्द्रकुमार झाले जानकारी दिएका छन्।
पार्टीका महासचिव प्रकाश अधिकारी, डा. सुरेन्द्रकुमार झा, विपद् व्यवस्थापन तथा राहत आर्थिक सहयोग संकलन समितिका संयोजक शैलेन्द्रप्रसाद साहसहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेको हो।
जसपा नेपालले रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबैले सहयोग गर्नुपर्ने जनाएको छ।
पार्टीले देश–विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनी र विभिन्न संघसंस्थालाई विपद् प्रभावित नागरिकको सहयोगार्थ सञ्चालित अभियानमा सहभागी हुन अपिल गरेको छ।
साथै, आर्थिक सहयोग गर्ने पार्टीका विभिन्न तहका समिति तथा शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गर्दै जसपा नेपालले विपद् प्रभावित नागरिकको साथमा पार्टी निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेको छ।















Discussion about this post