भदौ ३० गते। अग्रगामी युवा मोर्चाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध आगामी असोज ६ गते नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्ने भएको छ ।
मोर्चाले मंगलवार विज्ञप्ति जारी गरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन तथा आपूर्ति व्यवस्थामा देखिएको समस्या समाधान सहितको माग सम्बोधन नभए आयल निगम घेराउ गर्ने जनाएको हो ।
मोर्चाले देशमा बढ्दो मूल्यवृद्धि, कालोबजारी, सरकारी सेवा प्रवाहमा देखिएको ढिलासुस्ती तथा भ्रष्टाचार नियन्त्रणका लागि समेत सरकारसँग जोडदार माग गरेको छ।
नागरिकका आधारभूत समस्याप्रति संघीय, प्रदेश र स्थानीय सरकार उदासीन बन्दै गएको आरोप लगाउदै मोर्चाले आफ्ना माग तत्काल सम्बोधन नभए देशव्यापी रूपमा सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ।
मोर्चाले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भए पनि तीन तहका सरकारी निकायबीच आवश्यक समन्वय र सहकार्य हुन नसकेको जनाएको छ। बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई प्रभावकारी उद्धार, उचित राहत र स्थायी पुनःस्थापनाको व्यवस्था गर्न समेत माग गरेको छ ।
त्यस्तै, सरकारी निकायमा बढ्दै गएको भ्रष्टाचार, अनियमितता र प्रशासनिक ढिलासुस्ती अन्त्य गरी पारदर्शिता तथा सुशासन कायम गर्न मोर्चाले सरकारको ध्यानाकर्षण गराएको छ।
बजारमा अत्यावश्यक वस्तुको अभाव, कालोबजारी तथा मूल्यवृद्धि बढ्दै गएको भन्दै मोर्चाले तत्काल प्रभावकारी बजार अनुगमन गरी मूल्य नियन्त्रण गर्न र दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न माग गरेको छ।
युवाका लागि स्वदेशमै रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न ठोस नीति ल्याउनुपर्नेमा जोड दिँदै मोर्चाले वैदेशिक रोजगारीका नाममा हुने ठगी, बिचौलियाको सञ्जाल र श्रम शोषण नियन्त्रण गर्न माग गरेको छ।
प्रेस विज्ञप्तिमा समाजवादी युवा संघ नेपालका अध्यक्ष मनिष यादव, समाजवादी युवा संगठनका संयोजक जनकबहादुर कार्की, विद्यार्थी जनमत संघका संयोजक पोषणकुमार यादव, खम्बुवान राष्ट्रिय मोर्चा नेपालका प्रतिनिधि विप्लव खम्बु, आइटी आर्मीका केन्द्रीय प्रतिनिधि राजेश शर्मा, आम विद्यार्थी मोर्चाका केन्द्रीय सचिव प्रिन्स साह, समाजवादी विद्यार्थी युनियन नेपालका उपमहासचिव मुकेशकुमार यादव र Common Gen-Z Nepalका केन्द्रीय प्रतिनिधि रवि ध्वज कार्कीले हस्ताक्षर गरेका छन्।

















Discussion about this post