सञ्जय मिश्रा/रौतहट/भदौ २९ गते। मधेश प्रदेशसँग सिमाना जोडिएको भारत बिहारको मोतिहारी प्रहरीले पछिल्लो दुई वर्षमा लागुऔषधविरुद्ध सञ्चालन गरेको अभियानमा ठूलो सफलता हासिल गरेको छ।
एसपी स्वर्ण प्रभातको कार्यकालमा प्रहरीले करिब ५२ करोड ६६ लाख रुपैयाँ मूल्य बराबरका लागुऔषध बरामद गर्नुका साथै ६६९ जना लागुऔषध तस्करलाई पक्राउ गरी जेल पठाएको जनाएको छ।
प्रहरीका अनुसार यस अवधिमा पक्राउ परेका तस्करमध्ये १०० जनालाई अदालतबाट सजाय दिलाइएको छ। समयमै अनुसन्धान पूरा गरी अदालतमा प्रमाण पेस गरिएकाले तस्करलाई कानुनी कारबाहीको दायरामा ल्याउन सफल भएको प्रहरीको दाबी छ।
अधिवक्ता सन्तोष ठाकुरले एसपी स्वर्ण प्रभातको दुई वर्षे कार्यकालमा मोतिहारी प्रहरीले लागुऔषध तस्करी नियन्त्रणमा उल्लेखनीय काम गरेको बताए।
उनका अनुसार प्रहरीले समयमै चार्जसिट दाखिला गर्नुका साथै अदालतमा बलियो प्रमाण प्रस्तुत गरेकाले ठूलो संख्यामा लागुऔषध तस्करलाई सजाय दिलाउन सम्भव भएको हो।
एसपी स्वर्ण प्रभातले सुरक्षित समाज निर्माण प्रहरीको पहिलो प्राथमिकता रहेको बताएका छन्। उनले ‘नशामुक्त मोतिहारी’ अभियानअन्तर्गत लागुऔषधविरुद्ध निरन्तर विशेष अभियान सञ्चालन भइरहेको जानकारी दिए। उनका अनुसार लागुऔषध नियन्त्रणका लागि तस्कर तथा कारोबारीमाथि कारबाहीसँगै युवालाई नशाबाट टाढा राख्न जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भइरहेको छ।
एसपी प्रभातले लागुऔषधको बिक्री तथा तस्करीबारे जानकारी पाए तत्काल प्रहरीलाई खबर गर्न आम नागरिकसँग आग्रह गरेका छन्। सूचना दिने व्यक्तिको पहिचान गोप्य राखिने उनले बताए। ‘नशाविरुद्धको लडाइँ प्रहरीको मात्र नभई समग्र समाजको साझा जिम्मेवारी हो,’ एसपी प्रभातले भने, ‘सबैको सहयोग र सहकार्यबाट मात्रै मोतिहारीलाई नशामुक्त बनाउन सकिन्छ।’















Discussion about this post