काठमाडौं/भदौ २६ गते। नेपाल पर्यटन बोर्डले कार्यकारी प्रमुख (सीईओ) पदका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। बोर्डले शुक्रबार एक सूचना प्रकाशित गर्दै योग्य र इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो।
सूचना प्रकाशित भएको मितिले १४ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछिको कार्यालय खुलेको दिनसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
सीईओ पदका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी पर्यटन क्षेत्रमा न्यूनतम १० वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ। साथै प्रचलित कानुनबमोजिम उम्मेदवार हुन अयोग्य नभएको हुनुपर्नेछ।
आकांक्षी उम्मेदवारले आवेदनका साथ व्यक्तिगत विवरण, शैक्षिक तथा अनुभवका प्रमाणित कागजात, बोर्डको अभिवृद्धिका लागि तयार पारिएको रणनीतिक कार्ययोजना तथा उपलब्धिका प्रमाणहरू पेस गर्नुपर्नेछ। कुनै सार्वजनिक संस्थाको विभागीय जिम्मेवारीमा रहेका उम्मेदवारको हकमा भने विभागीय स्वीकृतिको पत्र अनिवार्य गरिएको छ।
दरखास्त दस्तुरबापत १२ हजार रुपैयाँ तोकिएको छ। उक्त रकम राष्ट्रिय वाणिज्य बैंक, तीनधारा शाखामा रहेको नेपाल पर्यटन बोर्डको ‘NTB-PSSK’ खातामा जम्मा गरी भौचर आवेदनसाथ संलग्न गर्नुपर्नेछ।
आवेदन भृकुटीमण्डपस्थित पर्यटन बोर्डको कार्यालयमा रहेको कार्यकारी प्रमुखको सचिवालयमा वा इमेलमार्फत [email protected] मा समेत पठाउन सकिनेछ। छनोट सम्बन्धी आगामी प्रक्रिया र सूचनाहरू बोर्डको वेबसाइट trade.ntb.gov.np मार्फत सार्वजनिक गरिनेछ।















Discussion about this post