नयाँ दिल्ली/भदौ २६ गते। ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतको भ्रमण गर्ने भएका छन्।
चीनको विदेश मन्त्रालयले बिहीबार राष्ट्रपति सीको भारत भ्रमणबारे औपचारिक पुष्टि गरेको हो भने रुसले पुटिनको भ्रमणको जानकारी दुई दिनअघि नै दिइसकेको छ।
गत मंगलबार बिहान नोयडा अन्तर्राष्ट्रिय विमानस्थलमा रुसी सेनाका तीनवटा विमान अवतरण गरेका थिए। भर्खरै सञ्चालनमा आएको यस विमानस्थलमा विदेशी विमान आइपुगेको यो पहिलो पटक हो।
बिहान करिब ५:३० बजे अवतरण गरेका ती विमानहरूमा रुसी सेनाको ‘आईएल-७६’ सैन्य ढुवानी विमान पनि समावेश थियो। भारतमा हुन लागेको उच्चस्तरीय भ्रमणको तयारीका लागि रुसी अग्रिम टोली र सैन्य अधिकारीहरू ती विमानमार्फत यहाँ आइपुगेका हुन्।
उता, सन् २०२० मा गलवान उपत्यकामा भएको हिंस्रक झडपपछि चिनियाँ राष्ट्रपति सीको यो पहिलो भारत भ्रमण हुनेछ। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सीबीच द्विपक्षीय भेटवार्ता हुने अपेक्षा गरिएको छ।
१५ जुन २०२० मा पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको सैन्य झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो पछि चीनले पनि आफ्ना चार सैनिक मारिएको स्वीकार गरेको थियो।
यस वर्ष ब्रिक्सको अध्यक्षता गरिरहेको भारतले आगामी १२-१३ सेप्टेम्बरमा नयाँ दिल्लीमा शिखर सम्मेलन आयोजना गर्दैछ। सम्मेलनमा आयोजक भारतसहित चीन, रुस, ब्राजिल, दक्षिण अफ्रिका, इजिप्ट, इरान, इथियोपिया, युएई र इन्डोनेसिया गरी ११ सदस्य राष्ट्रका नेताहरू सहभागी हुनेछन्।
भारतको अध्यक्षतामा वर्षभरि विभिन्न सहरहरूमा मन्त्रीस्तरीय तथा बहुस्तरीय छलफलहरू भइरहेका छन्। भारतले विशेष गरी ‘ग्लोबल साउथ’ (विकासशील राष्ट्रहरू) को आवाजलाई सशक्त बनाउने, आर्थिक सहयोग, ऊर्जा सुरक्षा, डिजिटल प्रविधि, आतंकवादविरुद्धको सहकार्य र आपूर्ति शृङ्खला सुदृढ गर्ने विषयलाई प्राथमिकतामा राखेको छ।
ब्रिक्सलाई केवल राजनीतिक मञ्चमा सीमित नराखी व्यापार, लगानी र विकासको प्रमुख केन्द्रका रूपमा अघि बढाउने भारतको उद्देश्य रहेको छ।
नयाँ दिल्लीस्थित ‘भारत मण्डपम’ मा आगामी सेप्टेम्बर १२ र १३ गते १८औँ ब्रिक्स शिखर सम्मेलन आयोजना हुँदैछ। दुई दिनसम्म चल्ने यस सम्मेलनमा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।















Discussion about this post