ब्रसेल्स/भदौ २३ गते। चीनले आपूर्ति शृङ्खलामाथि आधिपत्य जमाउँदै गर्दा युरोपेली सङ्घका कारखानामा ३ लाख रोजगारी कटौतीको जोखिम रहेको उद्योग क्षेत्रका प्रतिनिधिहरूले चेतावनी दिएका छन्।
एक प्रमुख औद्योगिक व्यापारिक संस्था ‘युरोमेटल’ ले चिनियाँ पार्टपुर्जा निर्माताहरूद्वारा उद्योगमा भइरहेको “औपनिवेशीकरण” (कब्जा) लाई ब्रसेल्सले नरोकेमा उत्पादन क्षेत्रमा रोजगारी गुम्ने क्रम तीव्र हुने चेतावनी दिएको छ। युरोमेटलका अनुसार सन् २०२६ को बाँकी अवधिमा मात्रै ३ लाख रोजगारी गुम्ने अनुमान छ।
चीनले हाल युरोपेली सङ्घसँग दैनिक १ अर्ब युरो बराबरको कीर्तिमानी व्यापार बचत (निर्यात बढी र आयात कम हुने अवस्था) हासिल गरिरहेको छ।
सोमबार युरोमेटलले आफ्ना चिन्ताहरू ब्रसेल्सका नीति-निर्माताहरूसामु राख्दै छ। यसका लागि उनीहरूले युरोपेली आयोगको मुख्यालय वरिपरि १० वटा प्रतीकात्मक कफिन (शवपेटिका) राखेर विरोध प्रदर्शन गरेका छन्। ती कफिनहरूमा “इयुको प्रतिस्पर्धात्मक क्षमता”, “औद्योगिक रोजगारी” र “युरोपेली कारखानाहरू” जस्ता वाक्यांशहरू लेखिनेछन्।
चीनले पार्टपुर्जा बिक्रीका माध्यमबाट आपूर्ति शृङ्खलामा पकड जमाउँदा युरोपेली उद्योगहरू समाप्त हुँदै गएको कुरालाई आयोगले गम्भीरतापूर्वक नलगेको युरोपेली उत्पादकहरूको गुनासो छ।
युरोमेटलका अध्यक्ष अलेक्जेन्डर जुलियसले ‘द गार्जियन’ सँग भने, “चीनले आफूले के गरिरहेको छ भन्ने कुरा लुकाएको छैन। यो उनीहरूको पञ्चवर्षीय योजनामै समावेश छ। चीन कच्चा पदार्थको आपूर्तिकर्ता मात्र नभई तयार वस्तु र मुख्य उत्पादनहरूको आपूर्ति शृङ्खलामै नियन्त्रण कायम गर्न चाहन्छ।”
युरोपेली सङ्घले सन् २०२४ मा चिनियाँ विद्युतीय सवारी साधन र जुन महिनामा विदेशी स्टिल आयातमा उच्च भन्सार शुल्क लागू गरिसकेको छ। सङ्घका व्यापार आयुक्त मारोस सेफकोभिचले चीनसँगको वार्षिक ३६० अर्ब युरो बराबरको आयात-निर्यात असन्तुलन “दिगो नभएको” बताएका छन्। सम्भावित व्यापार युद्ध टार्न दुवै पक्षले अक्टोबरसम्मका लागि तीन महिना वार्ता गर्न सहमति जनाएका छन्।
जुलियसका अनुसार युरोपेली धातु उत्पादकहरूले उच्च ऊर्जा लागत, स्टिल आयातको भन्सार शुल्क र कार्बन उत्सर्जन कर बेहोर्नुपरेको छ भने चिनियाँ पार्टपुर्जामा यस्ता शुल्क लाग्दैनन्। साथै, चिनियाँ मुद्रा ‘युआन’ को अवमूल्यनका कारण चिनियाँ प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्नु थप चुनौतीपूर्ण बनेको छ।
यसैबिच, जुन महिनामा युरोपेली आयोगले गरेको विश्लेषणले उच्च ऊर्जा लागत र विश्वव्यापी प्रतिस्पर्धाका कारण १० लाखभन्दा बढी सम्भावित रोजगारी गुम्न सक्ने अनुमान गरेको छ, जसमा जर्मन कार निर्माता फक्सवागनमा हुने १ लाख रोजगारी कटौती समेत समावेश छ।
अर्कातिर, चीनले युरोपलाई संरक्षणवादको आरोप लगाउँदै थप लक्षित गरिए दृढ प्रतिवाद गर्ने चेतावनी दिएको छ।















Discussion about this post