लन्डन/भदौ २३ गते। पूर्वी राज्य स्याक्सोनी-एनहाल्टमा भएको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेपछि अति-दक्षिणपन्थी दल ‘अल्टरनेटिभ फर जर्मनी’ अर्थात एएफडी सत्ता सम्हाल्ने अवस्थाको “निकै नजिक” पुगेको सो दलका उप-संसदीय नेताले बताएका छन ।
बीबीसीका अनुसार आइतबारको प्रारम्भिक नतिजाअनुसार उक्त दलले ४३.८% मत प्राप्त गरे पनि स्पष्ट बहुमतका लागि आवश्यक सिट संख्याभन्दा तीन सिट कम ल्याएको छ। सरकार गठन गर्नका लागि अब उसले अन्य दल वा व्यक्तिहरूको समर्थन खोजिरहेको छ।
जर्मनीका अधिकांश राजनीतिक दलहरूले एएफडीसँग सहकार्य गर्न अस्वीकार गर्दै आए पनि बीट्रिक्स भोन स्टोर्चले आफ्ना विरोधीहरूलाई वार्तामा आउन आह्वान गर्दै भनिन्, “तपाईं ‘म जनताको मत स्वीकार गर्दिनँ’ भन्न सक्नुहुन्न।”
उता, जर्मनीका नेता फ्रेडरिक मेर्जले नतिजाबाट आफू “गहिरो स्तब्ध” भएको बताए। उनले यसलाई “ठूलो उथलपुथल” को संज्ञा दिँदै भने, “यो देशमा मात्र नभई मेरो आफ्नै राजनीतिक दलभित्र पनि ठूलो हलचल हो र म यसलाई निकै गम्भीरतापूर्वक लिन्छु।”
राज्यको प्रारम्भिक नतिजामा उनको दल, कन्जरभेटिभ सिडियुले प्राप्त गरेको मतको हिस्सा घटेर १७.२% मा झरेको छ, जुन अघिल्लो नतिजाको तुलनामा लगभग आधा हो।
मेर्जले “सामान्य अवस्थामा फर्कनु” सम्भव नभएको बताउँदै देशमा “गहिरो सुधार” को आवश्यकता रहेको र सिडियुले “जनताको भावनालाई छुने गरी उनीहरूसम्म पुग्नुपर्ने” कुरामा जोड दिए। भोन स्टोर्चले थपिन्, “राज्यको नतिजा स्पष्ट छ र अब लोकतन्त्रवादीहरूले एक-अर्कासँग संवाद गर्नुपर्छ। लोकतन्त्रले यही माग गर्दछ।”
दोस्रो विश्वयुद्धयता कुनै पनि अति-दक्षिणपन्थी दलले जर्मनीको कुनै राज्यमा शासन गरेको छैन। राज्यस्तरमा सरकार सञ्चालन गर्नुको अर्थ प्रहरी प्रशासन र स्थानीय शिक्षासम्बन्धी अधिकारहरूमा नियन्त्रण उनीहरूकाे नियन्त्रणमा हुनु हो।















Discussion about this post