नुवाकोट/भदौ २२ गते। रसुवा, नुवाकोट तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूका लागि मुस्लिम युवा नागरिक समाज, जनकपुरधाम द्वारा संकलित राहत सामग्री नुवाकोटस्थित होल्डिङ सेन्टरमा हस्तान्तरण गरिएको छ। राहत वितरण तथा व्यवस्थापन कार्यमा जेन–जी अभियन्ता तथा प्रदेश युवा सञ्जाल, मधेश प्रदेशका अध्यक्ष नइम राईन स्वयं सहभागी भई पीडित परिवारहरूसँग भेटघाट गरेका छन्।
संस्थाले बाढीपीडितका लागि ५१ बोरा (१३ क्विन्टल) चामल, २ बोरा दाल, ६ बोरा चिउरा, ६० कार्टुन खानेपानी, ५५ कार्टुन चाउचाउ, ५ बोरा सोयाबिन, ३ बोरा मुरही भुजा, १५० प्याकेट सेनिटरी प्याड, २० प्याकेट फेस मास्क, २० थान सेनिटाइजर, १५० थान टूथब्रस, १५० थान टूथपेस्ट, १०० थान लाइफबोय साबुन, १०० थान कपडा साबुन, १०० थान स्टिल प्लेट, १०० थान स्टिल कचौरा, ५० थान १५ लिटरका बाल्टिन, ५० थान पानी खाने जग, ३५ थान साडी तथा ५० थान पार्ले–जी बिस्कुटलगायतका राहत सामग्री उपलब्ध गराएको जनाएको छ।
राहत वितरणका क्रममा अध्यक्ष राईनले नुवाकोटस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बाढीपीडित परिवारहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था बुझेका थिए। उनले होल्डिङ सेन्टरमा महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिकलाई एउटै स्थानमा राखिएको देखिएको बताए। साथै मृतकहरूको शवसमेत सोही परिसर नजिक व्यवस्थापन गरिँदा स्वास्थ्य जोखिम बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
राईनका अनुसार अत्यधिक भीडभाड, सीमित सरसफाइ तथा एउटै स्थानमा धेरै मानिसको बसोबासका कारण संक्रामक रोग तथा महामारी फैलिन सक्ने सम्भावना देखिएको छ। उनले सम्बन्धित निकायलाई स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन, सरसफाइ व्यवस्थापन सुदृढ बनाउन तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकका लागि छुट्टै सुरक्षित व्यवस्थापन गर्न आग्रह गरेका छन्।
“राहत वितरण मात्र पर्याप्त हुँदैन, पीडितहरूको स्वास्थ्य, सुरक्षा र सम्मानजनक बसोबास सुनिश्चित गर्नु पनि उत्तिकै आवश्यक छ,” राईनले बताए।
बाढी प्रभावित क्षेत्रमा विभिन्न संघसंस्था, युवा समूह तथा स्वयंसेवकहरू राहत तथा उद्धारमा सक्रिय रहे पनि पीडितहरूको दीर्घकालीन पुनर्स्थापना, स्वास्थ्य सुरक्षा र मनोसामाजिक सहयोगका लागि अझै व्यापक पहल आवश्यक रहेको स्थानीयहरूको भनाइ छ।















Discussion about this post