जनकपुरधाम/भदौ ३ गते। भगवान् रामका अनन्य भक्त तथा ‘रामचरितमानस’का रचनाकार गोस्वामी तुलसीदासको स्मरणमा जनकपुरधाममा तुलसी जयन्ती महोत्सव भव्य रूपमा मनाइएको छ।
रामानन्दीय वैष्णव संघको आयोजनामा सम्पन्न महोत्सवमा साधुसन्त, धर्मगुरु तथा भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो। महोत्सवका क्रममा गोस्वामी तुलसीदासको जीवन, दर्शन, साहित्यिक योगदान तथा सनातन धर्म र समाजमा उनले पुर्याएको योगदानबारे चर्चा गरिएको थियो।
रामानन्दीय वैष्णव संघका अध्यक्ष रामरोशन दास वैष्णवले तुलसीदासले भगवान् रामको आदर्श चरित्र, मर्यादा र जीवनदर्शनलाई जनसाधारणसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। उनका अनुसार ‘रामचरितमानस’ केवल धार्मिक ग्रन्थ मात्र नभई मानवता, कर्तव्य, सदाचार, नैतिकता र सामाजिक सद्भावको सन्देश दिने महत्वपूर्ण कृति हो।
महोत्सवमा ‘रामचरितमानस’का विभिन्न प्रसंग वाचन, भजनकीर्तन तथा धार्मिक प्रवचनलगायतका कार्यक्रम आयोजना गरिएको थियो। साधुसन्त तथा भक्तजनले तुलसीदासका रचनाले धार्मिक आस्था बलियो बनाउन तथा समाजमा नैतिकता र सद्भाव कायम गर्न महत्वपूर्ण योगदान पुर्याएको धारणा व्यक्त गरेका थिए।
भजनकीर्तन तथा धार्मिक अनुष्ठानका कारण महोत्सव अवधिभर जनकपुरधामको वातावरण भक्तिमय बनेको थियो। सहभागीहरूले तुलसीदासको योगदानको स्मरण गर्दै धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवद्र्धनमा सबै पक्षले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
रामानन्दीय वैष्णव संघले तुलसी जयन्ती महोत्सवलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिँदै धार्मिक तथा सांस्कृतिक गतिविधिमार्फत जनकपुरधामको मौलिक पहिचान र धार्मिक परम्पराको संरक्षणमा योगदान गर्ने जनाएको छ।















Discussion about this post