काठमाडौं/साउन ८ गते। गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको प्रभावकारी अनुगमन तथा सीमावर्ती नागरिकका वास्तविक समस्या बुझ्न अब गृहमन्त्री स्वयं भ्रमणमा जानुभन्दा सादा पोशाकमा स्पेशल टास्क फोर्स परिचालन गरिने बताएका छन्।
राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले आफ्नो सीमा भ्रमणलाई केहीले ‘स्टन्ट’को संज्ञा दिएको उल्लेख गर्दै अब विशेष टोलीमार्फत वस्तुगत रूपमा अनुगमन र जनगुनासो संकलन गरिने जानकारी दिए।
उनका अनुसार सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकले भोगिरहेका वास्तविक समस्या प्रत्यक्ष रूपमा बुझ्न सादा पोशाकमा खटिने विशेष टोली गठन गर्ने तयारी भइरहेको छ। उक्त टोलीले सीमा क्षेत्रको सुरक्षा अवस्था, नागरिकका गुनासा तथा सेवा प्रवाहको अवस्थाबारे नियमित प्रतिवेदन सरकारलाई उपलब्ध गराउनेछ।
गृहमन्त्री गुरुङले मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई गृहमन्त्रालयको विशेष प्राथमिकतामा राखिएको उल्लेख गर्दै ती क्षेत्रका नागरिकले लामो समयदेखि भोग्दै आएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।
उनले जनताको पीडा र संवेदनशील विषयलाई राजनीतिक लाभका लागि प्रयोग गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिँदै सरकार नागरिकको विश्वास जित्ने गरी काम गर्न केन्द्रित रहेको बताए।















Discussion about this post