बेइजिङ/साउन ८ गते। ४० घण्टासम्म मुटुको धड्कन बन्द भएका एक चिनियाँ पुरुष चमत्कारिक रूपमा बाँचेको दिन पछि उनको हालको दिनचर्या सामान्य बनेको छ ।
उनको चामात्कारिक पुनारागमनले गर्दा जीवन बचाउने नवीनतम चिकित्सा प्रविधिहरूको बारेमा अनलाइन छलफल सुरु भएको छ।
झेजियाङ युनिभर्सिटी स्कूल अफ मेडिसिनको दोस्रो सम्बद्ध अस्पतालका आपतकालीन डाक्टर लु सियाओले आफ्नो सामाजिक सञ्जाल खातामा पोस्ट गरेपछि यो घटना प्रकाशमा आएको थियो, जसका तीस लाख फलोअरहरू छन्। उनले सामाजिक सञ्जालमा लेखे अनुसार लुले ४० वर्षीय पुरुषलाई हृदयघात भएको र धेरै विद्युतीय डिफिब्रिलेसन पछि मुटुको धड्कन फेला नपरेको बताए।
चिकित्सा टोलीले उक्त व्यक्तिमा एक्स्ट्राकोर्पोरियल मेम्ब्रेन अक्सिजनेशन (इक्मो) गर्यो र अन्ततः उनको मुटु लगभग दुई दिनसम्म धड्कन बन्द भए पनि उनको ज्यान बचायो।
इक्मो एउटा जीवन रक्षक मेसिन हो, जसले कृत्रिम मुटु र फोक्सोको रूपमा काम गर्छ । यसले अंगहरूले काम गर्न छोडेका बिरामीहरूको रगतमा अक्सिजन थप्ने र कार्बन डाइअक्साइड हटाउने काम गर्छ। यो मेसिन प्रायः हृदयाघात भएका बिरामीहरू तथा मुटु र फोक्सो प्रत्यारोपण गराइरहेका व्यक्तिहरूलाई अस्थायी सहयोग प्रदान गर्न प्रयोग गरिन्छ।
यसअघि पनि यस मेसिनको सहयोगले ‘कार्डियाक अरेस्ट’ अर्थात मुटुको धड्कन अचानक बन्द हुने अवस्था भएको केही घण्टा पछि मानिसहरूलाई बचाउन सकिएको विवरणहरू सार्वजनिक भएका थिए। गत वर्ष पनि मध्य चीनको हुबेई प्रान्तमा ५३ वर्षीया एक महिलाको मुटुको धड्कन रोकिएको पाँच घण्टापछि उनलाई पुनः जीवित तुल्याइएको थियो।
सन् २०२२ मा पूर्वी चीनको जियाङ्सु प्रान्तस्थित यानचेङ नम्बर १ पिपुल्स हस्पिटलले ३६ वर्षीया एक महिलाको मुटुको धड्कन ९६ घण्टासम्म रोकिए पछि इक्मो मेसिनको सहयोगमा उनलाई बचाउन सफल भएको जानकारी दिएको थियो।
अस्पतालका अनुसार यो मेसिनले ‘कार्डियाक अरेस्ट’ भएका बिरामीहरूको बाँच्ने दरलाई परम्परागत सीपीआर बिधिमा हुने १ प्रतिशतबाट बढाएर ५० प्रतिशतसम्म पुर्याउन सक्छ। यद्यपि, इक्मो उपचार लामो समयसम्म जारी राख्दा केही जोखिमहरू पनि हुन्छन्।
४० वर्षीय पुरुषको हकमा डाक्टर लुले बताएअनुसार रगत जम्ने समस्या, जुन ज्यानका लागि घातक हुन सक्थ्यो, लाई रोक्न रगतको प्रवाह अर्थात पम्पिङ बढाउने उपायहरू अपनाउनु परेको थियो।
साथै, चिकित्सा टोलीले रगत जम्ने समस्या र रक्तस्राव, जुन एक सामान्य तर खतरनाक जटिलता हो, बीच सन्तुलन कायम गर्नुपर्ने हुन्छ। यसको अर्थ निरन्तर निगरानी आवश्यक हुन्छ र चिकित्साकर्मीहरूसँग उत्कृष्ट व्यावसायिक सीप हुनुपर्छ।
ती पुरुषको मुटुको धड्कन पुनः सुरु भएपछि पनि उनी करिब १० दिनसम्म इक्मो उपचारमै रहेका थिए । डाक्टर लुका अनुसार २० दिनपछि उनी लगभग पूर्ण रूपमा निको भए र आफैँ हिँडेर अस्पतालबाट घर फर्किए, उनमा कुनै पनि दीर्घकालीन असर जस्तैः पक्षघात, मिर्गौला फेल हुने वा चिन्ता र डिप्रेसनजस्ता मानसिक समस्या देखिएन।
लुले यस नतिजालाई एउटा चमत्कारको संज्ञा दिए। ‘बिरामी भाग्यमानी छन्। हरेक सफल उपचार चिकित्सा क्षेत्रको विकास, कर्मचारीहरूको निरन्तर प्रयास र भाग्यको प्रतिफल हो।’
यस घटनाले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ । ‘ती व्यक्ति निकै भाग्यमानी छन् किनभने उनले समयमै उपचार पाए, अन्यथा एक्मोले पनि उनको ज्यान बचाउन सक्ने थिएन,’ अर्का एक व्यक्तिले भने। अर्का एक व्यक्तिले यो पनि भने कि उनले आफ्नो उपचार खर्च व्यहोर्ने परिवारलाई पनि धन्यवाद दिनुपर्छ।
चीनमा, प्राप्त जानकारी अनुसार उक्त मेसिन सञ्चालन गर्न सुरुमै करिब ५०,००० युआन अर्थात ७,००० अमेरिकी डलर लाग्छ र त्यसपछि हरेक दिन १० हजार युआनभन्दा बढी खर्च हुन्छ। सामान्यतया, यो शुल्क चीनको सामाजिक बीमाअन्तर्गत समेटिँदैन।















Discussion about this post