जनकपुरधाम/असार ७ गते। लियो क्लब अफ जनकपुरधाम क्यापिटलको वार्षिक साधारणसभा सम्पन्न भएको छ। क्लबका अध्यक्ष लियो विकास साहको अध्यक्षतामा सम्पन्न साधारणसभामा क्लबले वर्ष २०२५/०२६ मा गरेका विभिन्न सामाजिक तथा सेवामूलक गतिविधिबारे जानकारी गराउनुका साथै आय–व्यय विवरण सार्वजनिक गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ जनकपुरधामका अध्यक्ष डा. राजेशले युवाहरूको सामाजिक सेवाप्रतिको सक्रियता प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिन आग्रह गरे।
साधारणसभाले वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित कार्यसमितिको अध्यक्षमा लियो विकास साह पुनः निर्विरोध निर्वाचित भएका छन्।
त्यसैगरी, प्रथम उपाध्यक्षमा भारती साह, द्वितीय उपाध्यक्षमा शिवशंकर साह, सचिवमा पिन्की कुमारी शर्मा, सह–सचिवमा राजनन्दनी चौधरी, कोषाध्यक्षमा सत्यम भगत, सह–कोषाध्यक्षमा महेश भगत तथा सदस्यता संयोजक (मेम्बरसिप चेयरपर्सन) मा शंकर दास निर्विरोध निर्वाचित भएका छन्।
नवनिर्वाचित पदाधिकारीहरूको नाम निर्वाचन आयुक्त तथा लियो क्लब अफ जनकपुरधामका पूर्व अध्यक्ष विकास साहले घोषणा गरेका थिए।
कार्यक्रममा वक्ताहरूले लियो क्लबले समाजसेवा, नेतृत्व विकास तथा युवाहरूको क्षमता अभिवृद्धिमा पुर्याउँदै आएको योगदानको चर्चा गर्दै नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
साधारणसभामा लायन्स क्लब अफ जनकपुरधामका नवनिर्वाचित अध्यक्ष प्रशुन्न झा, लायन्स सदस्य गोपाल प्रसाद, लायन्स क्लब अफ जनकपुरधाम गार्गीकी जमुना भुजेल र सरिता साह, लियो क्लब अफ जनकपुरधामका पूर्व अध्यक्ष विकास साह, भारती साह, रितिक सिंह लगायत लियो क्लब अफ जनकपुरधाम क्यापिटल तथा लियो क्लब अफ जनकपुरधामका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो।





















Discussion about this post